पञ्चायतमा मारिएका इले र विरेको सम्झनामा पिस्करमा स्मृति सभा हुने

दिपक खत्री
पिस्कर, २७ पुस ।
जनआन्दोलको दृष्टिले निकै महत्वपुर्ण रहेको सिन्धुपाल्चोकको पिस्करमा पौष २८ गते भोलि शहिद स्मृति सभा हुने भएको छ । पन्चायती ब्यवस्था फाल्ने आन्दोलनका रुपमा पिस्करका स्थानिय वासिन्दा इले थामि र विर वहादुर थामिले पिस्करको भुमिमा आहुति दिएको स्मरणमा स्मृति सभा गर्न लागिएको हो ।
वि.स २०४० साल पौष मसान्तका दिन राति भएको घटना पिस्कर काण्डले चर्चित रहेको छ । त्यो समय तत्कालिन मालेका द्येरै नेताले जेल नेलको कठोर यातना समेत भोगेका थिए । राज्य विरुद्धको आरोप लागेर कतिले वास स्थाननै छोड्नु परेको कारण गाउँ रित्तो थियो । क्रान्ती विर शहिदको आधार भुमि मानिने पिस्करमा त्यो समय रगत बग्नुका साथै मान्छेले झुटा मुद्धाको आरोपमा जेलको सामना गर्दै सत्य र अधिकारका लागि लडेका थिए ।
गाउँमा पुलिसका बुट र लाठी बर्सिएका थिए । बिनाकारण पाएको यो पीडाले थप मानिसमा आक्रोश पनि बढ्यो। र, यसले तत्कालीन शासन व्यवस्था विरुद्ध थप आवाज बुलन्द गर्न ऊर्जा मिल्यो। आजभन्दा ३६ वर्षअघि भएको यो घटना सम्झेर अहिले पनि महादेवस्थान आसपासका बासिन्दा भयभीत भइरहन्छन्। यसलाई पञ्चायती शासकको दमनको उदाहरणका रूपमा उनिहरुले लिने गरेका छन् र माघ १ मा स्थानीयरूपमा बृहत् मेला लाग्ने हुनाले तत्कालीन नेकपा (माले)ले यो ठाउँमा सरकारविरोधी चेतना फैलाउने कार्यक्रम राखेको थियो । माघेसंक्रान्तिको यो घटना हुनुभन्दा करिब ५ दिनअघि मालेका नेता अमृत बोहरा र माधव पौडेल पिस्कर पुगेका थिए। कार्यक्रमको आवश्यक व्यवस्था मिलाएर उनीहरू काठमाडौं फर्केका थिए। तर, प्रहरीले पार्टीका उच्च नेतृत्व नै सो कार्यक्रममा सहभागी हुने सूचनाका आधारमा आक्रमण गरेको थियो ।
थुप्रै स्थानीय बासिन्दालाई प्रहरीले गिरफ्तार गरेको थियो। त्यसबेलाका स्थानीय नेता हाल प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललगायत मेघनाथ पौडेल, सरेश नेपाल, छत्रबहादुर बोहरा, मानबहादुर थामीलाई सरकारले जेल हालेको थियो । पिस्कर अहिले त्रिपुरासुन्दरी गाउपालिका केन्द्र रहेको गाउँ हो । २०४० सालको माघेसंक्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम थियो। र, त्यसलाई पञ्चायती शासकहरूले दमन गरे। प्रहरीको गोलीद्वारा दुई निर्दोष थामीको निर्मम हत्या भएको थियो ।
घटनालगत्तै हत्या र दमनको देशव्यापी विरोध तथा प्रतिवादको योजना अघि सारिएको थियो। मानव अधिकारको व्यापक हनन भएको निचोडसहित सञ्चार तथा मानवअधिकारवादी संस्थाहरू परिचालित भएका थिए। यस हत्याकाण्डको देशव्यापीरूपमा विरोध भएको थियो। यसलाई अन्तर्रा्िष्ट्रयकरण गर्ने काम पनि भयो। जसले दरबारलाई समेत समस्यामा पारेको थियो। त्यसबेला राजाका निकट मानिने व्यक्तिले पनि घटनाको विरोध गरेका थिए। संघर्षको परिणामस्वरूप पिस्कर क्षेत्रमा गरिएका नाकाबन्दी हटाउन र केही मात्रामा भए पनि दमन खुकुलो पार्न सरकार बाध्य भयो। त्यस घटनाको छ वर्षमै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । मन्दिरमा लागेको मेलामा प्रहरीले दमन गरेर मान्छे मारेको घटना यसअघि नेपालमा भएको थिएनन। त्यसकारण पनि यसले तत्कालीन व्यवस्थाप्रति जनधारणा नकारात्मक बन्दै गएको थियो । प्रजातन्त्रका लागि लडेका यहाँका स्थानियले अहिले गणतन्त्र देख्न पाएको र विकासको लागि गाउपालिकाले काम गरीरहेको गाउंपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । २०४० सालको पिस्कर काण्डमा शाहादत प्राप्त गर्नुभएका पिस्करका ईले थामी र बिरे थामीको स्मृतिमा गाँउपालिकाले शहिद पार्क निर्माण सुरु गरेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ४ थामी समुदायको बाक्लो बस्ती रहेको च्याङ्थामा शहिदपार्क निर्माण भईरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिऐ । दुई शहिदकोे शालिक संगै पार्क, बंगैचा तथा बाटिका लगाएतका संरचना निर्माण गरिने छन् । निरङ्रकुसताको विरुद्ध क्रान्तीको दियो बाल्ने र निरङ्रकुसताका विरुद्ध उठ्ने ऐतिहासिक स्थल पिस्कर रहेको स्मरणमा ४ नम्बर पिस्करमा कार्यक्रम गर्न लाग्एिको वडा अध्यक्ष भोटोला थामिको भनाई छ । नेपाल कम्युनिष्ट पार्टि नेकपा त्रिपुरासुन्दरी गाउपालिकाको आयोजनामा गाउंपालिका ४ नम्बर वडा पिस्करमा शहिद स्मृति सभा गर्न लागिएको हो । भोलिको कार्यक्रममा नेकपा अनुसासन आयोग प्रमुख अमृत कुमार बोहोरा ,पुर्व सांसद राज कुमार श्रेष्ठ, नेकपा नेता मेघनाथ पौडेल, गाउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ लगायत सहभागि हुने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
तपाईको प्रतिक्रिया दिनुहोस