बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसामाजिक सञ्जालले बढायो बेचविखन

सामाजिक सञ्जालले बढायो बेचविखन


चौतारा, १५ पुस ।

दुई साताअघि सुनकोशी गाउँपालिकास्थित ठोकर्पाका तीन किशोरीलाई काभ्रे र  सिन्धुपाल्चोकको सीमा गाउँ बनदेउबाट माइती नेपालले उद्धार ग¥यो । विदेश लैजाने आश्वासन दिएका व्यक्ति लिन नआएपछि उनीहरु तीन दिनसम्म बनदेउ–दोलालघाट गरिरहेपछि माइती नेपालले उनीहरुलाई उद्धार गरेको हो ।

यी तीन किशोरीलाई एक युवाले सामाजिक सञ्जाल फेसबुकमार्फत चिनाजानी गरेर बोलाएका थिए । किशोरीहरुले बनदेउमा माइती नेपालो चेकपोष्ट रहेको जानकारी पाएपछि सुकुटे बजारबाट पैदल यात्रा गरेर बनदेउ कटेका थिए । उद्धार गरिएकी एक किशोरीका अनुसार सार्वजनिक बसमा यात्रा गर्दा चेकपोष्टले समात्ने डरका कारण हिडेर आएको हो ।

किशोरीहरुको भनाई उदृत गर्दै माइती नेपालकी जिल्ला संयोजक पबित्रा घिमिरेले भनिन्, ‘नानीहरुलाई सुरुमा जेरो किलो बोलाइएको रहेछ, फेसबुकबाट बोलाएकाले उनीहरु आफूलाई लिन आउने मान्छेबारे अनविज्ञ थिए ।’ उनीहरुलाई ती युवकले विवाह गर्ने र विदेशमा जाने सपना देखाएका थिए । युवकप्रति विश्वास गरेर किशोरीहरु भागेर आएको घिमिरेले बताइन् ।

यी किशोरीहरु जस्तै सामाजिक सञ्जालको भर परेर जोखिममा पर्नेहरु प्रसस्तै छन् । केही समयअघि बाह्रविसे नगरपालिका घर भएकी एक बच्चाकी आमासमेत रहेकी महिला पनि सामाजिक सञ्जालको चंगुलमा फसेकी थिइन् । उनलाई जेठानी पर्नेले फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गरेर उनलाई फसाएकी थिइन् । जेठानीले फेक फेसबुकमा राम्रो पुरुषको फोटो राखेर उनलाई ब्लायक मेलिङ गरेकी थिइन् । पीडित महिलाका अनुसार फेसबुकमा कुरा भएपछि विदेश जाने कुरा भएको थियो । फेक फेसबुकबाट उनलाई आइएमइ गरेर पैसा पनि पठाएको देखिएको माइती नेपालकी संयोजक पवित्रा बताउँछिन् । ‘अरु नै व्यक्तिको नामबाट पैसा पठाएको देखियो,’ उनले भनिन्, ‘भेट्ने कुरा भएपनि फेक पुरुषले चलाखी अपनाएको देखिन्छ ।’ महिला अलपत्र जस्तो देखेपछि बनदेउ चेकपोष्टले उनको निगरानी गरि उद्धार गरेको हो ।

यी प्रतिनिधि पात्र र घटना मात्रै हुन् । अहिले सामाजिक सञ्जालको प्रयोगले बेचविखन बढेको माइती नेपालको दाबी छ । यसरी भागेर जानेहरु प्रतिबन्धित मुलुक इराकमा भारतको बाटो भई जाने पनि गरेको घिमिरे बताउँछिन् । माइतीको तथ्यांकअनुसार विकट गाउँ मानिने भोटेकोशी गाउँपालिका वडा नं. ५  का महिलाहरु प्रतिबन्धित मुलुक इराकमा धेरै जाने गरेका छन् । ‘सामाजिक सञ्जालकै प्रयोगबाट एक महिलालाई विदेश लैजान लागेको देखेर उद्धार गरेका पनि छौं,’ उनी भन्छिन्, ‘पहिला इमो, भाइबर, फेसबुकमा कुरा हुन्छ, किशोरी अनि महिलाहरु जालो पर्छन्, पछि मुद्धा हाल्न डराउँछन् ।’ उनका अनुसार सामाजिक जालोले झेलेको हुँदा मुद्धा पर्दैन । ‘जे हुनु भइहाल्यो, अब मुद्धा गरेर आफन्तसँग जोरी नखोजौं, इज्जतको पनि सवाल हुन्छ भनेर पीडित पक्ष नै चुप बस्नुहुन्छ ।’ उनले भनिन् । स्थानीय आफन्त पर्ने दलाल सक्रिय हुने हुँदा समस्या आउने उनको भनाई छ ।

जोखिम मोलेर महिला विदेशिने क्रम बढेपछि यो गाउँमा माइतीले विविध सचेतनामूलक कार्यक्रम पनि गरेको छ । र, पनि इराक जानेहरुमा कमी अझै आउन सकेको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ मार्मिङमा सानै उमेरमा विद्यालय छाडेर विशेष गरि प्रतिबन्धित मुलुक इराक जान महिला तथा किशोरीमा प्रतिष्पर्धाजस्तै छ ।

कृषि उत्पादनको सम्भावना कम भएको मार्मिङबाट मात्र साँढे चार सय बढि बैदेशिक रोजगारीमा छन् । माइती नेपालको तथ्यांकअनुसार बैदेशिक रोजगारीका गएका यो वडाका चार सय ४२ मध्ये दुई सय ४६ जना इराकमा छन् । ती मध्ये ६५ प्रतिशत महिला छन् । इराकबाट दुई वर्ष अघि फर्किएका बहादुर तामाङका अनुसार इराक जाने नेपाली मध्ये पुरुषले विभिन्न कम्पनीमा काम पाउने भएपनि महिलाले भने घरेलु कामदारकै रुपमा काम गर्ने गरेका छन् । मार्मिङमा एकै घरका सात जनासम्म इराकमा कामदारको रुपमा गएको माइती नेपालकी सीमा निगरानी परामर्शकर्ता संगीता विक बताउँछिन् ।

भोटेकोशी गाउँपालिका–१, मार्मिङकी २० वर्षीया निशा तामाङ परिवारकै सल्लाहमा गत वर्ष इराक गएकी छिन् । परिवारको थाप्लोमा लागेको ऋण तिर्न र घर खर्च चलाउन गाउँका अरुहरु जस्तै निशा पनि इराक गएकी हुन् ।

घरमा आर्थिक संकट बढ्दै गएपछि छोरीलाई बिदेश पठाउनु परेको निशाकी आमा सोङ्गी बताउँछिन् । तर, सोङ्गीलाई इराकमा कामदारको रुपमा जान नेपालीलाई सरकारले प्रतिवन्ध लगाएको थाहा छैन । ‘गाउँका थुप्रै इराक गएका छन् राम्रो कमाइ हुन्छ रे त्यसैले छोरीलाई पठाएको’, सोङ्गी भन्छिन् ‘छोरीले कमाएर पठाएको पैसाले घर बनाएको ऋण तिर्न थालेको छु ।’

तातोपानी नाका सञ्चालनमा हुँदा नाकामा विभिन्न काम गरेर निर्वाह चलाउँदै आएका त्यहाँका बासिन्दा नाका बन्दपछि आर्थिक संकटमा परेकाले जोखिम मोलेरै प्रतिवन्धित मुलुकमा काम गर्न गएको माइतीकी सीमा निगरानीकर्ता संगीताले बताइन् ।

इराक मात्र नभई जिल्लाबाट महिलालाई कामदारका रुपमा पठाउन प्रतिवन्ध लगाइएका खाडी मुलुकमा जानेको संख्या पनि त्यतिकै रहेको वैदेशिक रोजगारीमा जानेका लागि परामर्श दिंदै आएको सामी परियोजनाका परामर्शकर्ता अरुण पौडेल बताउँछन् । पौडेलका अनुसार राहदानी बनाउन आउने अधिकांश महिला आफन्तको सहयोगमा काम गर्न जान लागेको बताउने गरेका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट नौ हजार चार सय ४६ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउनेमध्ये झण्डै साठी प्रतिशत महिला रहेको सामी परियोजनाको तथ्यांकले देखाउँछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!