फट्केश्वरमा पनि गरियो सवारीचालकको आँखा परीक्षण

लक्ष्मण बिष्ट
मेलम्ची, १५ पुस ।
पछिल्लो एक महिनामै दुई ठूला भयानक बस दुर्घटना भएपछि मेलम्ची नगरपालिकाको फट्केस्वरमा सवारी चालकका आँखा जाँच गरिएको छ । भयानक सडक दुर्घटनामा दर्जनौंको ज्यान गएपछि सवारी चालक प्रति सुरक्षा निगरानी बढाइएसँगै चालकको आँखा परीक्षण गरिएको हो ।
सडकमै सवारी साधन रोक्दै ट्राफिक प्रह्री कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मेलम्चिले सवारी चालकका आँखा परीक्षण गर्न सुरु गरेको छ । सोमबार मेलम्ची बाट काठमाडौं छुट्टीने फट्केस्वर खण्डमा साना ठूला सवै सवारी साधनका चालकहरुलाई झारेर आँखा तथा स्वास्थय परीक्षण गरिएको थियो । सडक दुर्घटनामा चालकका दृष्टी भ्रम पनि कारक रहेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरुको आँखा जाँच र थप उपचारका लागि सुझाउ गरेको छ ।
‘यन्त्रिक गडबढीले पनि दुर्घटना हुन्छ, तर चालकका दृष्टि भ्रम पनि हुनसक्ने अनुमान लगाएर सडकमै सवारी चालकका आँखा परीक्षण सुरु गरेका हौं’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक फल बहादुर तामाङले भने, ‘सडक दुर्घटना न्यूनिकरणका लागि तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सडकमै सवारी चालकका आँखा जाँच गरेका छौं ।’ काठमाडौ छुट्टीने फट्केस्वरमै क्याम्प खडा गरि लामो तथा छोटा दुरीका सवै खाले सवारी साधनका चालकहरुको दृष्टि, कलर र भिजनको परीक्षण भएको हो । यसअघि काभ्रे र सिन्धुपाल्चोकको सीमा गाउँ बनदेउमा पनि सवारी चालकको आँखा परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेशकुमार दाहालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
तपाईको प्रतिक्रिया दिनुहोस