स्थानीय सामग्रीबाट १७ वर्षे अरुणले बनाए कार

गुन्सा, १० पुस ।
स्थानीय सातकन्या माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन गर्छन् उनी । बिज्ञान र गणित विषयको अध्ययनमा रमाउँछन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ५ गुन्साका १७ वर्षिय अरुण बम्जनले सानै उमेरमा स्थानीय सामग्रीको प्रयोग गरेर कार बनाएका छन् ।
अरुण आफैले बनाएको कार चडेर विद्यालय पनि जान्छन् । विज्ञानको यान्त्रिक विषयमा चासो राख्ने उनले इन्जिनबाहेक सबै स्थानीय सामग्री प्रयोग गरेका छन् । ‘डेढमहिनामै स्थानीय सामाग्री प्रयोग गरेर बनाउन सफल भएँ । स्कुल, घुम्न सबैतिर यही कार प्रयोग गरेर जाने गर्छु,’ बम्जनले भने ।
कार बनाउन सुरु गर्दा गाउँवासी कसैले पत्याएका थिएनन् । बेकामे भनेर उनलाई गिल्ली गर्दथे । तर हार नमानेर आफ्नो सिर्जनालाई निरन्तरता दिँदा अहिले सफल भएको उनले सुनाए ।
फालिएका ठेलगाडाको पांग्रा, फलामको टुक्रा र जस्तापाताको आवरण सिसालाई जोडेर उनले कारलाई अन्तिम रुप दिएका छन् । कारको नाम पनि उनले आफ्नै नाममा राखे ‘एआर पी कार’ अर्थात् अरुण प्राइभेट कार । ‘यसमा राखिएको ट्याक्टर इन्जिन र बसको स्टेरिङबाहेक अन्य सम्पूर्ण संरचना मैले नै बनाएको हु, यसको पूरा स्वरुप ‘डिजाइन’ गरेको छु,’उनले भने । अहिलेसम्मको सामाग्री झण्डै दुई लाखबराबरको देखिएको छ । प्रारम्भिक चरणमा अरुबाट खाजा, चाडपर्वमा पाएको रकम बचत गरेर उनले कारलाई चाहिने सामाग्री जुटाइरहे । जस्तापातासँग फलाम जोड्ने शैली, संरचनाबारे गाउँमा आएका टिप्पर, बोलेरोदेखि अन्य सवारीको भाग हेरेर जानेको उनको भनाइ छ ।
उनकाअनुसार स्थानीय सामाग्रीमा इन्जिन जोडेर बनाएको कारले हालै तीन जनासम्म बोक्न सक्छ ।
पाँचपोखरी थाङपाल गाउँलिका अध्यक्ष टासी लामा ह्योल्मो, वडाध्यक्ष काले गोलेसहित अन्य जनप्रतिनिधि, स्थानीय अचम्मित भए ।
गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले कारमा चढेर आनन्द लिए । गाउँमा अरुण ‘वैज्ञानिक केटा’को नामले चर्चित छन्, कार र उनलाई भेट्न आउने प्रशस्त हुन्छन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस