Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठपर्यटनसुरु भयो जिल्लाकै ठूलो गौराति मेला

सुरु भयो जिल्लाकै ठूलो गौराति मेला


चौतारा, २६ कात्तिक ।
सदरमुकाम चौताराबाट ४ किलोमिटर उत्तर । मनोरम प्राकृतिक सौन्दर्य । धुपी र पाटे सल्लाको हरियाली । बाहै्रमास सिरिर्र बगिरहने सिरेटो । पाटाभरी झुलेका कोदोका बाला । जुगल हिमश्रृंखलालाई शिर बनाएर बसेको थुम्को । चौतारा साँगाचोकगढी नगरपालिका ६ मा पर्ने त्यही थुम्कोमा ऐतिहासिक गौराति भीमेश्वरको मन्दिर छ । यहाँ हरेक वर्षको कात्तिक पूर्णिमाका दिन भव्य मेला लाग्छ  । त्यो मेला आजबाट सुरु भएको छ । मेला भर्न टाढा–टाढा बाट आएका भक्तजनहरुले मन्दिर परिसर खचाखच हुने गर्दछ ।
मनोकांक्षा पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु भक्तिपूर्वक भीमेश्वरको पूजाअर्चना गर्छन् । मुलुकका विभिन्न स्थानबाट हजारौं भक्तजनहरु आउँछन् । सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कामय राख्दै मेलालाई दसैं, तिहार जत्तिकै महत्वपूर्ण चाडका रुपमा मनाउँछन् ।
जिल्लाकै ठूलो पर्व भएकाले यहाँका सबै शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने प्रचलन छ । गौराति भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । बृद्ध हुन् या केटाकेटी, युवायुवती हुन् या अधबैंसे सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । किम्वदन्ती अनुसार हालको गौराति थुम्को प्राचीन कालमा गाइ वस्तु चराउने खर्क थियो । खर्कमा रहेको एउटा गोठमा भर्खरै ब्याएकी गाईले सँधै लुकेर दूध चढाउने गरेको गोठालाले देखेपछि त्यहाँ खनेर हेर्दा दिब्यस्वरुप प्रकट भई ‘मेरो पूजाआजा गरे भलो हुने’ बताएपछि भीमेश्वर उत्पत्ति भएको विश्वासले पूजाआजा सुरु भएको कहावत छ । गाईले राति दूध चढाएपछि त्यस ठाउँको नाम (गौ+राति) गौराति रहन गएको धार्मिक मान्यता छ ।
कात्तिक पूर्णिमाका दिन मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु जाग्राम बस्छन् । मनोकांक्षा पूरा गर्न भक्तजनहरुले भीमेश्वरमा बत्ती बाल्ने र पशु बलि दिने भाकल पहिल्यै गरेका हुन्छन् । आज बिहानैदेखि मन्दिर आसपास बत्ती बाल्नेहरु छन् । कसैले आफ्नो मनौती मनाउन पाँचै बाजासहित भीमेश्वरलाई बलि दिने र विवाहित युवायुवतीले सन्तान नहुँदै बोकाको बलि चढाउने गर्छन् । मन्दिरमा पूर्णिमाका पाँचदिन अघिदेखि पाँचदिन पछिसम्म बत्ती बालिन्छ ।
भीमेश्वर कति पुरानो भन्ने एकिन प्रमाण फेला नपरेपनि वि.सं. १६४२ मा मन्दिरमा दलबहादुर कुँवरले चढाएको घण्टाको आधारमा ४ सय ३० वर्षभन्दा बढी पुरानो मानिन्छ । ०५३ मा मन्दिरलाई पुनर्निमाण गरेपछि भीमेश्वर मन्दिर र त्यस स्थलको सौन्दर्य बढेको छ । १४ लाख रुपैयाँ लागतमा पुनर्निमाण गरिएको मन्दिरको तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यले २०५३ मंसिर २ गते शिलाअनावरण गरेका थिए । तत्कालीन राजा रानीबाट रोपिएको रुद्राक्षको बोटलाई अहिले पनि स्थानीयले उनीहरुको चिनोको रुपमा मान्ने गरेका छन् । त्यसै बेला मन्दिर परिसरमा लक्ष्मी र महाकालीको मन्दिर पनि निर्माण गरिएको थियो ।
नेवारहरुले भिमेश्वरलाई आफ्ना इष्ट देवता भिमसेनको रुपमा पूजा गर्छन् । तर जिल्लाका पुराना सञ्चारकर्मी राम केसी भने भिमेश्वर भिमसेन नभई शिवको एउटा रुप भएको बताउँछन् । उनको भनाइमा भूमी खनेर उत्पत्ति भएकाले भूमीश्वर भन्दा भन्दै अपभ्रंश भएर भिमेश्वर भएको हो । केसीका अनुसार अन्य बेला बलि हुने भएपनि मध्यान्ह समयमा महादेवको नाममा दुध चढाएर पूजा गर्ने प्रचलनले पनि भिमेश्वर शिवको अर्को रुप भएको पुष्टि गर्छ ।
पूर्णिमाको दिन चौतारा बजारको भीमेसेनको मूर्तिलाई पूजाआजा गरी रथमा राखेर गौराति लगिन्छ । यसलाई रथ जात्रा भनिन्छ । आज राति १२ बजे सदरमुकाम चौताराबाट रथ लैजानै तयारी गरिएको छ । नेवार समुदायका गुठियारले पञ्चैबाजासहित रथ कतै नरोकी चुँदुवाडाँडा पु¥याउँछन् । गौरातिबाट आएका गुठियारले त्यहाँ बलि दिएर स्वागत पूजा गर्छन् । त्यसपछि गुठियारको घर–घरमा बिसाउँदै गौराति पु¥याएर भीमसेन र भीमेश्वरको मिलन गराइन्छ । पूर्णिमाको भोलिपल्ट अगाली पूजा गरिन्छ । भक्तजनहरु पूजाआजा गर्छन्, गुठियारहरुले बलि दिन्छन् । त्यसपछि काटमार बन्द हुन्छ ।
बिदाई पूजाका साथ भीमसेनको रथलाई बेलुकी पख पुनः सदरमुकाम ल्याइन्छ । रथका भीमसेनलाई जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी अधिकारीले पनि बलि चढाई पूजा गर्छन । अदालतको पूजा सवै भन्दा पुरानो हो । सरकारी कार्यालयको पूजा पछि गुठीयारको घर–घरमा विसाउँदै तीन दिनपछि भीमसेनलाई मन्दिरमा भित्र्याएपछि गौराति मेला सकिन्छ । चौतारावासीले पर्वकै रुपमा चोक चोकमा चँदुवा टाँगेर रथको पूजा आजा गर्दै बोका बलि दिन्छन् ।
अन्य बेला स्थानीय पूजारीले नियमित पूजा गर्ने भिमेश्वरमा मेलाका बेला भने मुल पुरेत आचाजु जातीका नेवारले पूजा गर्ने गर्दछन् । त्यतिबेला गौरातिमा मात्र हैन चौतारा भिमसेनको पूजा समेत तीनै आचाजुले गर्ने गरेको स्थानीयको भनाई छ ।
मेलामा बूढापाकाहरु रातभर जाग्राम बसेर पूजाआजाका साथ भजनकीर्तनमा नतमस्तक हुन्छन् । ठिटाठिटीहरु दोहोरीमा लठ्ठिन्छन् । सेल, रोटी, रक्सी, सुन्तला लगायत स्थानीय उत्पादनको व्यापार बढ्छ । सदरमुकाम चौताराबाट चार किलोमिटर पैदल या गाडी यात्राद्धारा गौराति पुग्न सकिन्छ । गौराति क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएपनि कार्यान्वयन नहुँदा भने धार्मिक पर्यटनको विकास सोचेजति हुन सकेको छैन । गौराति मेलाको व्यवस्थापन र पर्यटन विकासका लागि २०५३ बाट गौराति विकास समिति गठन गरिएपनि यसले सोचेजस्तो काम गर्न सकेको छैन । अहिले स्थानीय युवाले मन्दिरको संरक्षण गरिरहेका छन् । युवाहरुले समिति निर्माण गरि मन्दिरको प्रचारप्रसार गरि धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिरहेको गौराती युवा समूहका उपाध्यक्ष विशाल लामाले बताए । समूहकै अगुवाईमा केही वर्षअघि मन्दिरको विकासका लागि महायज्ञ लगाइएको थियो ।
आधिकारिक तथ्यांक नभएपनि गौराति जिल्लाकै बढि बलि पूजा हुने मन्दिर हो । मेलाका बेलामा मात्र नभइ अन्य समय पनि उत्तिकै बलि हुने स्थानीय बताउँछन् । कात्तिक पूर्णिमादेखि फागुनसम्म हरेक पञ्चमीमा भिमेश्वरलाई पञ्च बली दिने प्रचलन छ । मेला सुरु भएदेखि फागुनको पञ्चमीसम्म ३ हजारको हाराहारीमा पशु बली हुने विगतको अनुभव छ । गौराति मेला भर्न जिल्ला भित्रका मात्र हैन राजधानी, काभ्रे, नुवाकोटबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
हजारौं तीर्थालु मेला भर्न आउने भएकाले उनीहरुको सुविधाका लागि स्थानीय अघि बढेका छन् । गौराती विकास समाज र गौराती युवा समूहको सक्रियतामा यो वर्षको मेला भव्य र सभ्य बनाउन युवाहरु क्रियाशील बनेका छन् । मेला भर्न आउने तीथार्लु भक्तजनको सुविधाका लागि स्वयमसेवक युवाहरु परिचालन गरिएको छ । मन्दिर परिसरमा स्टल निर्माणको काम भएको छ । मेलाका बेला हुनसक्ने अप्रिय घटनालाई मध्येनजर गर्दै मदिरा बिक्री वितरणलाई नियन्त्रण गर्न सुरक्षा निकायले आबश्यक व्यवस्था गरिने समितिले जनाएको छ । मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाका सवै सुरक्षा निकाय परिचालन हुनेछन् । सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस