अनाथ असहाय बालबालिका सहयोगार्थ दिपावली साँझ

अमेरिका, ३० असोज ।
जिल्लामा रहेका अनाथ, असहाय तथा गरिब जेहेन्दार विद्यार्थीलर्ई उच्च शिक्षा दिलाउनका लागि दिपावली साँझ गरिने भएको छ । अमेरिकामा रहेको सिन्धु कल्याण समाजले शुभ दिपावली २०१९ को अवसरमा बालबालिका पढाउनका लागि साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
आउँदो अक्टोबर २६ मा अमेरिकामा हुने कार्यक्रममा सयूक्त राज्य अमेरिकाका लागि नेपालका प्रतिनिधि महाबाणिज्य दुत पुष्पराज भट्टराई प्रमुख अतिथि रहनेछन् । कार्यक्रममा बरिष्ठ लोक गायक मिलन लामा, डिजे सूर्य खड्का लगायतको प्रस्तुति सँगै अन्य मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम हुने आयोजक सिन्धु कल्याण समाज अमेरिकाका अध्यक्ष छिरिङ तेञ्जिङ लामाले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार कार्यक्रमबाट संकलित रकम माउण्ट कैलास स्कुल कपनमा अध्ययनरत ८ जना, प्लस टु अध्ययनरत ३ जना र लामोसाँघु ड्यामसाइटस्थित बनसाँघु माविमा अध्ययनरत ३ जना बालबालिकाको अध्ययनका लागि खर्च गरिनेछ ।
सो कार्यक्रममा संस्थाप्रति निस्वार्थ भावना सहित इमान्दारी र बफादार भई कार्य सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्तिहरुलाई सम्मानसमेत गरिनेछ । समाजका अनुसार पूर्व सदस्यहरु, कार्यक्रमका प्रायोजक व्यक्ति, संघसंस्था, खेलाडी, बैंक रकम संकलन सहयोगी व्यक्ति, कलेजमा स्नातक अध्ययनरत विद्यार्थी, संस्थाका पूर्णकालीन सदस्यहरुलाई सम्मान गरिन लागिएको हो ।
हाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको अगुवाईमा अमेरिकामा स्थापित यो संस्थाले सिन्धुपाल्चोकको शैक्षिक विकासका लागि यसअघि निकै महत्वपूर्ण कार्यहरु गरेको छ । बाढी पीडितलाई रकम सहयोग, रक्तदान, सरसफाई, जनचेतना, कानुनी परामर्श, भूकम्पपीडितलाई राहत, विद्यालय निर्माणजस्ता कार्यहरु यस संस्थाले गरिरहेको अध्यक्ष लामाले जानकारी दिए ।
सिन्धु खबरका लागि अमेरिका प्रतिनिधि सूर्य खड्काको सहयोगमा
क्याटेगोरी : प्रवास, समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस