Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाचारभोटसिपा बस दुर्घटना : मृत बच्चा निकालेर बचाइयो घाइते गर्भवतीको ज्यान

भोटसिपा बस दुर्घटना : मृत बच्चा निकालेर बचाइयो घाइते गर्भवतीको ज्यान


चौतारा, २७ असोज ।
अप्रेसन गरी पेटबाट मृत शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भिर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भिर घाइते भएकी थिइन् । उनको पेटमा सात महिना पूरा भएको गर्भ थियो ।
काभ्रेको धुलिखेल अस्पतालले पेटमै निधन भएको शिशु अप्रेसन गरी निकालेर सुनिताको ज्यान बचाएको हो । दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको थियो । अस्पतालमा पुग्दा चिकित्सकले गर्भको शिशुको ज्यान गइसकेको घोषणा गरेका थिए । औषधी सेवनले समेत मृत शिशु घाइते आमाको कोखबाट प्राकृतिक तवरले बाहिर निस्कन नसक्ने बताउँदै चिकित्सकले अप्रेसन गर्न सुझाएको उनका काका अमर तामाङले बताए ।
‘शिशु त बितिसक्यो । आमालाई बचाउन तत्काल अप्रेसन गर्नुपर्छ,’ चिकित्सकको भनाइ उदृत गर्दै तामाङले भने, ‘अप्रेसनबाट बच्चा निकाल्दैमा आमालाई बचाउन सकिन्छ भन्ने छैन । तैपनि प्रयास गर्छौँ ।’ परिवारले स्वीकृति जनाएपछि चिकित्सक टोलीले जोखिम मोलेको उनले जानकारी दिए । अप्रेसनपछि दुई घण्टा बेहोस भइ होसमा आएकी सुनिताको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र अवस्था खतरामूक्त रहेको चिकित्सकले बताएका छन् ।
‘उनी (सुनिता) प्रहरीको गम्भिर घाइतेको सूचीमा छिन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले भने । इन्द्रावती–९ भोटसिपाकी उनी दसैँ मनाएर राजधानी फर्कँदै गर्दा दुर्घटनामा परेकी थिइन् । उनको टाउको र पेटमा चोट लागेको थियो । टाउकोको चोटले उनको आँखामा असर पु¥याएकाले अर्को अप्रेसनका लागि चिकित्सकले सुझाएको सुनिताका काका तामाङले बताए । अस्पतालले मृत शिशुको शनिबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको थियो । बडहरे बस दुर्घटनामा चालकसहित ११ को ज्यान गएको थियो भने एक सय ६ यात्रु घाइते भएका थिए ।
बाह्रविसे नगरको ५ लाख सहयोग
बडहरे बस दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारलाई बाह्रविसे नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ । पालिकाको बिपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई सहायता रकम प्रदान गरिने नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए ।
‘बिपद् सबैतिर आइपर्छ । छिमेकमा आएको बिपद्मा एकले अर्को स्थानीय तहलाई सघाउने असल परम्परा बसाल्न खोजेका हौँ,’ सहयोग घोषणा गर्दै उनले भने । छिट्टै कोषको बैठक बसी निर्णय गरेर घोषित रकम प्रदान गर्ने उनले जानकारी दिए । स्थानीय सरकार आर्थिक रुपमा सबल भइ नसकेकाले दुःखमा सघाउनु कर्तव्य ठानेको उनको भनाईँ छ । यसअघि बस दुर्घटना भएको इन्द्रावती गाउँपालिकाले मृतकका परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरिसकेको छ ।

नागरिक दैनिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस