भोटसिपा दुर्घटना : उद्धारका लागि गाउँपालिका अध्यक्ष तामाङ हेलिकोप्टर लिएर घटनास्थलमा

भोटसिपा, २४ असोज ।
आज विहान भएको भोटसिपा बस दुर्घटनाका घाइतेको उद्धारका लागि इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ हेलिकोप्टर चार्टर गरेर घटनास्थल पुगेका छन् । काठमाण्डौंमा रहेका अध्यक्ष तामाङ दुर्घटनाको खबर सुने लगत्तै व्यक्तिगत खर्चमा एभरेष्ट एअरको हेलिकोप्टर लिएर घटनास्थल आइपुगेका हुन् ।
उनले चार्टर गरेको होलिकोप्टरले तीन पटक घाइतेलाई अस्पताल पु¥याएको हो । अध्यक्ष बंशलालका अनुसार हेलिकोप्टरबाट २ पटक धुलिखेल अस्पताल र एक पटक काठमाण्डौंस्थित बिर अस्पतालको ट्रमा सेन्टरमा घाइते लगिएको हो । दुर्घटना भएको केही क्षणमै अध्यक्ष तामाङ हेलिकोप्टर लिएर घटनास्थल आइपुगेको स्थानीयको भनाई छ ।
थप मानवीय क्षति जोगाउनका लागि जतिसक्दो चाँडो उद्धारका लागि घटनास्थल आफू आएको गाउँपालिका महासंघका महासचिवसमेत रहेका इन्द्रावतीका अध्यक्ष तामाङले सिन्धुखबरलाई जानकारी दिए । विर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचाररत विरामीहरुसँगै रहेका तामाङले ट्रमामा रहेका घाइतेहरु खतरामुक्त भएको टेलिफोनबाट बताए । ट्रमामा अहिले १४ घाइते उपचारारत छन् ।
घटना निकै दुखद भएको भन्दै अध्यक्ष तामाङले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना उनले गरेका छन् ।
इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित १२ को मृत्यु भएको हो ।
पाँच जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पाँच जनाको घटनास्थलमा र दुईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । त्यस्तै उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङको मृत्यु भएको हो ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस