प्रतिबन्धित मुलुक इराक जान महिलाहरुमा होड !

चौतारा, १३ असोज ।
भोटेकोशी गाउँपालिका–१, मार्मिङकी २० वर्षीया निशा तामाङ परिवारकै सल्लाहमा गत वर्ष इराक गएकी छिन् । परिवारको थाप्लोमा लागेको ऋण तिर्न र घर खर्च चलाउन गाउँका अरुहरु जस्तै निशा पनि इराक गएकी हुन् ।
घरमा आर्थिक संकट बढ्दै गएपछि छोरीलाई बिदेश पठाउनु परेको निशाकी आमा सोङ्गी बताउँछिन् । तर, सोङ्गीलाई इराकमा कामदारको रुपमा जान नेपालीलाई सरकारले प्रतिवन्ध लगाएको थाहा छैन । ‘गाउँका थुप्रै इराक गएका छन् राम्रो कमाइ हुन्छ रे त्यसैले छोरीलाई पठाएको’, सोङ्गी भन्छिन्, ‘छोरीले कमाएर पठाएको पैसाले घर बनाएको ऋण तिर्न थालेको छु ।’
कृषि उत्पादनको सम्भावना कम भएको मार्मिङबाट मात्र साँढे चार सय बढि बैदेशिक रोजगारीमा छन् । बैदेशिक रोजगारीका गएका मध्येपनि साँढे दुई सय जना इराकमा गएको स्थानीय महिला सञ्जालले संकलन गरेको तथ्यांकमा उल्लेख छ । सञ्जालको तथ्यांक अनुसार मार्मिङका एक सय साढी बढि महिला इराकमा घरेलु कामदारका रुपमा कार्यरत छन् । इराकबाट दुई वर्ष अघि फर्किएका बहादुर तामाङका अनुसार इराक जाने नेपाली मध्ये पुरुषले विभिन्न कम्पनीमा काम पाउने भएपनि महिलाले भने घरेलु कामदारकै रुपमा काम गर्ने गरेका छन् । मार्मिङमा एकै घरका तीन जनासम्म इराकमा कामदारको रुपमा गएको उनले बताए । उनी आफैले पनि श्रीमती र बहिनीलाई आफू गएपछि कामका लागि इराक बोलाएका थिए ।
तातोपानी नाका सञ्चालनमा हुँदा नाकामा विभिन्न काम गरेर निर्वाह चलाउँदै आएका त्यहाँका बासिन्दा नाका बन्दपछि आर्थिक संकटमा परेकाले जोखिम मोलेरै प्रतिवन्धित मुलुकमा काम गर्न गएका वडा अध्यक्ष सुब्बा लामाको बुझाइ छ । लामाका अनुसार उत्पादन कम हुने र बैकल्पिक रोजगारीको अवसर नभएकाले युवा जनशक्ति बैदेशिक रोजगारीको भर पर्नुपर्ने बाध्यता छ ।
इराक मात्र नभई जिल्लाबाट महिलालाई कामदारका रुपमा पठाउन प्रतिवन्ध लगाइएका खाडी मुलुकमा जानेको संख्या पनि त्यतिकै रहेको वैदेशिक रोजगारीमा जानेका लागि परामर्श दिंदै आएको सामी परियोजनाका परामर्शकर्ता अरुण पौडेल बताउँछन् । पौडेलका अनुसार राहदानी बनाउन आउने अधिकांश महिला आफन्तको सहयोगमा काम गर्न जान लागेको बताउने गरेका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट नौ हजार चार सय ४६ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउनेमध्ये झण्डै साठी प्रतिशत महिला रहेको सामी परियोजनाको तथ्यांकले देखाउँछ ।
क्याटेगोरी : प्रवास, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस