बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीति‘सि जिङ पिङको विचारधारा ल्याए नेकपा सकिन्छ’–डा. शेखर 

‘सि जिङ पिङको विचारधारा ल्याए नेकपा सकिन्छ’–डा. शेखर 


चौतारा, ९ असोज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा सि जिङ पिङको विचार धारा लागू गर्न खोजे प्रचण्ड र केपी ओली नेतृत्वको नेकपाको अस्तित्व सकिने दावी गरेका छन् । चीन एक दलीय शासन व्यवस्थामा रहेको र नेपाल लोकतान्त्रिक पद्धतिबाट चलेको मुलुक रहेको हुँदा सि जिङ पिङको विचारधारा नेपालमा कुनै हालतमा लागू हुन नसक्ने बताएका हुन् ।

काठमाण्डौंमा भएको पिङको विचारधाराका बारेको गोष्ठी विवादित भएको भन्दै त्यो लागू गर्न खोजे हामीहरु गम्भीर हुनु जरुरी रहेको उनले बताए । विहीबार सदरमुकाम चौतारामा भएको प्रजातन्त्र सेनानी संघको जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले पिङले चीनको नेतृत्व सम्हालेयता भ्रष्टाचार न्यूनीकरण भइरहेकाले नेपालले पनि यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए । बालुवाटार जग्गा,वाइडबडी, एनसेल फोर जी प्रकरणमा अरबौं भ्रष्टाचार भएको औंल्याउँदै नेकपामा नेताहरु भ्रष्टाचारमा लिप्त भएकाले समस्या भएको औंल्याए ।

‘कांग्रेस पार्टी गिरोहले चलाउन थालेपछि कमजोर बनेको हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘भातृसंस्था र प्रजातन्त्र सेनानी कमजोर बन्दै गएपछि कांग्रेस नराम्रो अवस्थामा पुगेको हो ।’ उनले नेपाली कांग्रेसको आफ्नै विधि र विधान भएकाले त्यसअनुरुप चल्न सके कांग्रेसलाई कसैले छेक्न नसक्ने दाबी गरे । अहिले गणतन्त्र र संघीयता अफ्ट्यारोमा परेकाले प्रधानमन्त्री ओलीबाटै त्यसको खतरा रहेको उनको भनाई छ । गणतन्त्रलाई संस्थागत गर्ने र संघीयतालाई मिलाउने जिम्मा लोकतान्त्रिकवादीको काँधमा आएको उनले उल्लेख गरे । सप्तरी र सिन्धुपाल्चोकमा जागरण सभामा भएको विवादबारे सुनाउदै उनले आपसी गुटउपगुटले ध्वस्त बनाउदै लगेको यर्थाथ देखाए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले वाइडबडी प्रकरण, निर्मला हत्यादेखि एनसेल प्रकरणलाई लिएर वाम सरकारले जथाभावी गरिरहेको आरोप लगाए । ‘प्रधानमन्त्री ज्युले नालायकीपन देखाउनु भएको छ, जसको कारणले देश डुब्ने खतरामा पुगेको छ,’उनले भने ।

‘गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या र बलात्कार भइरहने विवादित अभिव्यक्तिमा गैरजिम्मेवारी देखिएको उनले असन्तुष्टि व्यक्त गरे । महिला राष्ट्रपति हुँदा देशभर महिलाकै हिंसा ,बलात्कारको घटना भइरहनुले सरकारमाथि ठुलो प्रश्न चिन्ह खडा गरेको उनले प्रष्ट्याए । त्यसैगरी जिल्लाका अगुवा नेता, सभापतिदेखि प्रजातन्त्र सेनानीका अभियन्ता , जनप्रतिनिधिले कांग्रेसी विचारधारा र हालको अवस्थाबारे भनाइ राखेका थिए ।

सेनानी र सहिद परिवारलाई सम्मान

प्रजातन्त्र सेनानी संघको जिल्ला अधिवेशनमा सशस्त्र द्धन्द्धमा कांग्रेसी हुनाले ज्यान गुमाएका सहिदका परिवार र प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो । प्रजातन्त्र सेनानी र सहिद परिवार गरी ७३ जनालाई कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला र प्रदिप पौडेलले प्रमाणपत्र,दोसल्लाले सम्मान गरे ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!