नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।
यसवर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए ।
पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताउँदै भने, “हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।”
उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताए । पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको उनले प्रस्ट पारे । लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । उनले भने, “सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस