बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाचारटेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै, कुन फोनमा चल्छ इ-सिम?

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै, कुन फोनमा चल्छ इ-सिम?


काठमाडौं l नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ ।

नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

हाल कुन कुन फोनमा चल्छ इ-सिम?

नेपाली बजारमा इ-सिम लाग्ने फोन अहिले पनि उपलब्ध छन्। हालै अमेरिकामा सार्वजनिक भएको नयाँ आइफोनमा इ-सिम मात्र चल्छ। तर इ-सिम मात्र चल्ने आइफोन-१४ का नयाँ मोडलहरू अमेरिकाका लागि हो। अन्य देशमा इ-सिम र साधारण भौतिक सिम दुवै चल्ने आइफोन कम्पनीले पठाउने छ।

एप्पलले चार वर्षअघि आइफोन- एक्स मोडलबाट इ-सिम फिचर सुरू गरेको थियो। यसपछि सबै आइफोनमा इ-सिम चल्छ।

अनलाइन इ-सिम स्टोर ‘होलाफ्लाई’ ले इ-सिम चल्ने विभिन्न फोनहरूको सूची तयार पारेको छ।

आइफोन- एक्सएसहित आइफोन-११, आइफोन-एसई (२०२०), आइफोन-१२, आइफोन-१३ र आइफोन १४ का साथै सामसङ ग्यालेक्सी फोल्ड, ग्यालेक्सी फोल्ड- ३, ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी एस-२०, एस-२१, एस- २२, नोट-२० लगायत मोडलमा इ-सिम चल्छ।

यसबाहेक हुवावे पी-४०, पी-४० प्रो, मेट-४० प्रो, मोटोरोला आरएजेडआर-२०१९, आरएजेडआर- फाइभ जी, ओप्पो फाइन्ड- ३ प्रो, रेनो-५ ए, रेनो-६ प्रो फाइच जी, फाइन्ड एक्स-५, एक्स-५ प्रो र ए-५५ एसमा पनि इ-सिम लाग्छ।

गुगल पिक्सेल-३, पिक्सेल-३ ए, पिक्सेल-४, पिक्सेल-४ ए, पिक्सेल-५, पिक्सेल-६, पिक्सेल-६ ए र पिक्सेल-६ प्रोमा पनि इ-सिम चलाउन सकिन्छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!