शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका ४ जना नक्कली नोट बनाउने मेसिनसहित पक्राउ

सिन्धुपाल्चोकका ४ जना नक्कली नोट बनाउने मेसिनसहित पक्राउ


काठमाडौँ – नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

गोकर्णेश्वर–७ दक्षिणढोका क्षेत्रमा केही व्यक्तिले नक्कली नोटबाट सामान किन्न लागेको सूचनाका आधारमा वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठको टोलीले अनुसन्धान गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार श्रेष्ठको साथबाट १०० रुपैयाँको नक्कली नोट फेला पर्‍यो । अनुसन्धान गर्दै जाँदा श्रेष्ठले नक्कली नोट पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएको र उनको बूढानीलकण्ठ–११, कपनस्थित कोठामा ५०० रुपैयाँ र १००० रुपैयाँको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!