बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारकाठमाडौंमा फास्ट ट्र्याकबाट मेलम्चीको पानी ल्याइने

काठमाडौंमा फास्ट ट्र्याकबाट मेलम्चीको पानी ल्याइने


 

मेलम्ची- गत असार एक गतेको बाढीले क्षति पु-याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।

हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो । बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ ।

यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८\७९ को बजेट बक्तव्यमा चैतसम्ममा काठमाडौंमा मेलम्चीको पानी झारेर वितरण गरी सक्ने भन्ने उल्लेख गरेको थियो ।

समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा कार्ययोजना पेश गर्ने र त्यस पछि काम शुरु गर्ने तयारी गरेको पन्तले जानकारी दिए ।

सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्ने गरी कार्ययोजना तयारी गरेको जनाएको छ ।

हालसम्म करिव ३५ अर्व लगानी भई सकेको छ । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा मेलम्चीको पानीलाई धाराबाट खसालेर उद्घाटन गर्नुभएको थियो । २०५५ सालदेखि मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर काम भएपनि काठमाडौं पानी आइपुग्न २२ वर्ष लागेको थियो । समितिले २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी ल्याएको थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!