बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारधादिङ र जाजरकोटमा भएको बेग्ला बेग्लै दुर्घटनामा ५ जनाको ज्यान गयो

धादिङ र जाजरकोटमा भएको बेग्ला बेग्लै दुर्घटनामा ५ जनाको ज्यान गयो


कार्तिक १७ । धादिङको धुनिबेसी र जाजरकोटमा भएको बेग्ला बेग्लै दुर्घटनामा ५ जनाको ज्यान गएको छ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा धुनिबेसी नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारका लागि काठमाण्डौको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ पल्टिएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको काठमाण्डौको ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिका–५ झुल्केडाँडामा भएको दुर्घटनामा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ट्र्याक्टरका सहचालक नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका प्रहरीले जनाएको छ । ट्र्याक्टर नम्बर र दुर्घटनाको कारण खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!