शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारसर्वोच्चमा प्रधानन्यायाधीशको प्रवेश रोक्ने नेपाल बारको तयारी

सर्वोच्चमा प्रधानन्यायाधीशको प्रवेश रोक्ने नेपाल बारको तयारी


काठमाडौ, कार्तिक १२ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारि दिएका छन् ।

नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन । राणाले राजीनामा दिलान् भन्ने अपेक्षालाई राणाले कमजोरी ठानेको र पेलेरै अघि बढ्न खोजेको भन्दै बारले आजै बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबराले कार्यकारीसँग संवैधानिक निकाय र मन्त्रिपरिषद्मा भाग लिएको, आफ्नो स्वार्थ जोडिएका मुद्दाको सुनुवाइ अनिश्चितकालसम्म स्थगित गराएको, न्यायपालिकामा भएका विकृति विसंगति सुधार गर्ने कार्यमा आफैं बाधक बनेको, पेसी सूची प्रकाशन र इजलास तोक्ने विषयलाई वैज्ञानिक बनाउन अनुसन्धान समितिले दिएको प्रतिवेदन लत्याएको जस्ता कारणले अहिले समग्र न्यायिक क्षेत्रले उनको राजीनामा माग गरिरहेको छ ।

पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, संवैधानिक कानुन व्यवसायी मञ्चजस्ता संस्थाहरूले जबराको नेतृत्वमा न्यायपालिकाको सुधार सम्भव नरहेको भन्दै उनले नेतृत्व छाड्न भनिसकेका छन् ।

सर्वोच्चका बहालवाला २० मध्ये १९ न्यायाधीश जबराविरुद्ध उभिएका छन् । सर्वोच्च अदालतमा जबरा एक्लै परेका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौड्याल प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको बाटो नरोजेका कारण आफूहरू बाध्य भएर अदालतका कामकारबाही रोक्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!