बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारमेलम्ची आयोजनाको दोस्रो खण्डको काममा अबरोध

मेलम्ची आयोजनाको दोस्रो खण्डको काममा अबरोध


कार्तिक ११, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम रोकिएको छ । यांग्ङ्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी ल्याउने योजनाका साथ सुरु गरिएको मेलम्ची आयोजनाको दोस्रो चरणका काम स्थानीयको अवरोधका कारण बीचमै रोकिएको हो।

मेलम्ची खानेपानी विकास समितिले प्रतिबद्धता कार्यान्वयन नगरेपछि  आयोजना प्रभावितले काम रोकेका हुन् ।

अहिले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुने गरि पानी ल्याउने सुरुङसम्म पुग्ने गरि सडक निर्माण भइरहेको थियो । 

यसअघि खानेपानी विकास समितिले यांङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएको थियो । केही स्थानीयको मुआब्जामा समस्या भएपनि नेपाल सरकारको नियमअनुसार भन्दै स्थानीयले सन्तुष्टी जनाएका थिए । तर, अहिले खानेपानीले सहमति गरे बमोजिम क्षतिपुर्ती दिन आलटाल गरेकै कारण कामममा अवरोध गरेको स्थानीयको दावी छ ।

माग सम्बोधन नभई काम सूचारु हुने अवस्था नरहेको स्थानीयवासीको अडान छ । सडक खन्ने क्रममा क्षति भएका बालीहरुको क्षतिपूर्ति दिन  आलटाल गरेकाले काम रोकेको पाँचपोखरी थाङपाल गाउँपालिका–६ धापका पीडित डिल्ली वाइवाले जानकारी दिएका छन् । यो योजना पाँचपोखरी गाउँपालिकाको विभिन्न वडावासी प्रभवित हुनेछन् । अहिले करिब दुई सय घर धुरीले निर्माण कार्य अवरुद्ध गरेको समाचार छ । 

आयोजनले सडक निर्माण गर्ने क्रममा पहिला भएका भौतिक संरचना भत्काएको र त्यसलाई बनाउन समेत आयोजनाले आलटाल गरिरहेको आयोजना प्रभाबित क्षत्रका अर्का पीडित शिशिर वाइबाको आरोप छ ।

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा दिने बताएको थियो। अहिले क्षतिको विवरण संकलन भइरहेकाले काम विस्तारै हुने र स्थानीयले क्षतिअनुसारको मुआब्जा पाउने आयोजनाले जनाएको छ।

आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्सपाइसट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहणसमेत भइसकेको छ। यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची–२ को डीपीआर तयार गरिएको थियो । यांग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी ल्याउने तयारी छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!