शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारबाढीपहिरोः ८८ जनाको मृत्यु, ३० जना अझै बेपत्ता

बाढीपहिरोः ८८ जनाको मृत्यु, ३० जना अझै बेपत्ता


कात्तिक ४ । नियमीत मनसुन बाहिरिएपछि भित्रिएको बेमौसमी झरीका कारण आएको बाढीपहिरो र डुबानमा परेर विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।

गृह मन्त्रालयले आज थप ११ जनाको मृत्यु पुष्टि भएको र ज्यान गुमाउनेको संख्या अझै बढ्ने जनाएको छ । मन्त्रालयले संकलन गरेको आंकडामा अझै ३० जना बेपत्ता छन् ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार, सबैभन्दा बढी बझाङमा २१ जना, पाँचथरमा चार सहित विभिन्न जिल्लामा ३० बेपत्ता छन् । यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखा प्रमुख हुमकला पाण्डेले सिन्धुखवरलाई जानकारि दिएका छन् ।

यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो विपद्बाट २० जिल्ला प्रभावित भएकोमा पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएकोपुष्टि भएको छ । ७२ घण्टादेखि बिग्रेको मौषममा विहिवार दिउंसोबाट सुधार आएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न सम्वन्धीत प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

बाढी प्रभावितलाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरुको घर बनाउन आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले आश्वासन पनि दिएका छन् ।

आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी लगाएतका जिल्लाको भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले त्यस क्षेत्रका बाढी प्रभावित क्षेत्रका व्यक्तिको उद्धार र राहातका लागि निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसहितको टोली बाढीबाट प्रभावित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको निरीक्षणका क्रममा आज विहान दिपायल पुगेको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको छ ।

डोटीमा मात्रै बाढी–पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका छन् ।

सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुई वटा झोलुङ्गे पुलमा क्षति भएको विवरण दिएका छन् ।

बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर उक्त टोली बझाङको चैनपुर पुगेको छ । प्रधानमन्त्री देउवा आज बेलुकी गृहजिल्ला डडेल्धुरा सदरमुकाम पुग्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!