शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारबझाङमा बाढी-पहिरोमा ९ जनाको मृत्यु,२१ जना बेपत्ता

बझाङमा बाढी-पहिरोमा ९ जनाको मृत्यु,२१ जना बेपत्ता


बझाङ । लगातारको वर्षाका कारण बझाङमा बाढी र पहिरोमा परी हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता रहेका छन् । वेपत्ता भएकाको जिवितै उद्धारको सम्भावना निकै कम रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे सार्कीका घरका पाँच जना बेपत्ता भएका थिए । दुई दिनदेखि हराइरहेका उनीहरूमध्ये दुई जनाको मात्र शव भेटिएको छ ।


आज विहानबाट बझाङको मौसम सुधार हुँदै गएकाले खोजि तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थल पुगिसकेको छ ।

गाउँ भन्दामाथि ढोगदिना भन्ने ठाँउबाट पहिरो खसेपछि दुई गाउँका १४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरै पुरिएको छ । पहिरोका कारण विस्थापीत तल्लो डिख्ला र माथिल्लो डिख्लाका स्थानीय सर्वसाधारणले त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दाबढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले सञ्चारकर्मीलाई बताएका छन् । विद्यालयमा बसिरहेका विस्थापितमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको छ ।


यस्तै खप्तड छान्ना गाँउपालिकामा बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तड छान्ना गाँउपालिकाको माझी गाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमती जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरी र पाटादेवलका धनराज जोशी रहेका छन् । एक जनाको पहिचान खुलेको छैन ।

यस्तै छबिस पाथीभेरा गाँउपालिका २ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० परिवार विस्थापित भएका छन् । थलारा गाँउपालिकाका दुई सय बढी परिवार विस्थापित भएका छन् ।

सो क्षेत्रमा विद्युत तथा सञ्चार सम्पर्क समेत विच्छेद छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!