आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारजुगल बोर्डिङले पत्रकारका छोराछोरी नि:शुल्क पढाउने

जुगल बोर्डिङले पत्रकारका छोराछोरी नि:शुल्क पढाउने


चौतारा । सिन्धुपाल्चोकको पुरानो निजी विद्यालय जुगल बोर्डिङ हाइस्कुलले कुनै पनि पत्रकार मध्येका दुई जना बालबच्चा निशुल्क अध्यापन गराउने भएको छ । चौतारामा रहेको सो बोर्डिङ स्कुलले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखासँगको समन्वयमा दुई जना पत्रकारका छोराछोरीलाई निशुल्क पढाउने भएको हो ।
बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतिले यसको आज घोषणा गरे । नेपाल पत्रकार महासंघको आयोजनामा भएको विजया दशमी, दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रिन्सिपल उप्रतिले यस्तो घोषणा गरेका हुन् ।
निशुल्क अध्यापन गराउनका लागि पत्रकार महासंघले पत्रकारका छोरा या छोरीलाई सिफारिस गर्नुपर्ने हुन्छ । हरेक वर्ष नवीकरण गर्ने गरि महासंघसँग सम्झौता गरिने बोर्डिङले जनाएको छ ।
बोर्डिङले भर्ना शुल्क, मासिक शुल्क नलिने गरि पत्रकारका छोराछोरीआई अध्यापन गराउने भएको हो । प्रिन्सिपल उप्रतिले पत्रकार महासंघलाई बोर्डिङमा पढाउने बालबालिका सानो कक्षामा अध्ययनरतलाई पठाउन आग्रह समेत गरे । ‘हामीले कक्षा १० सम्म निशुल्क पढाउनेछौं,’ उनले भने, ‘सानो कक्षाका बालबालिका भएपछि हामीले सेवा लामो समयसम्म दिन सक्छौं ।’ उनले ठूलो कक्षा भएमा दुई÷तीन वर्ष मात्रै अध्यापन गराउन बाध्य हुने भएकाले सकेसम्म नर्सरी वा प्ले ग्रुपमा अध्ययन गर्नृे बालबालिका चाहेको बताए ।
बर्षाैअघिदेखि एसएलसीमै जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गरेको यो अभिभावकले रुचाएका बोर्डिङ स्कुल हो । बोर्डिङले यसअघि पनि पत्रकारका छोराछोरीलाई सहुलियतमा अध्यापन गराउँदै आएका थिए । तर, अब भने महासंघले सिफारिस गरेका पत्रकारका बालबालिकालाई निशुल्क पढाउने भएको बोर्डिङ प्रशसनले जनाएको छ ।
प्रिन्सिपल उप्रेतिको यो घोषणालाई पत्रकार महासंघले स्वागतयोग्य रुपमा लिएको छ । ‘पत्रकारको आम्दानी निकै कम हुन्छ, यस्तो हुँदा बालबच्चालाई पढाउन निकै धौं धौं भएको हामीले पाएका छौं,’ नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठले भने, ‘बोर्डिङले चालेको यो कदम निकै प्रसंशनीय र स्वागतयोग्य छ ।’ उनले यसमा पत्रकार महासंघ ऐक्यबद्धता गर्न तयार रहेकोसमेत जानकारी दिए ।
जिल्लामा हुने सामाजिक काममा सक्रिय रहने गरेको जुगल बोर्डिङलाई अध्यक्ष श्रेष्ठले धन्यवाद दिदैं यस्तै सहयोगको थप अपेक्षासमेत रहेको बताए । जुगल बोर्डिङको यो निर्णयसँगै अब जिल्लामा रहेका अन्य निजी विद्यालयहरुमा पनि यस्तो प्रस्ताव राख्ने योजना रहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!