शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारबाग्मति प्रदेशको ‘लाइफलाइन’ नारायणगढ–मुग्लिन सडक मर्मत सुरु

बाग्मति प्रदेशको ‘लाइफलाइन’ नारायणगढ–मुग्लिन सडक मर्मत सुरु


असोज १८ । काठमाडौँ सहित बाग्मति प्रदेशका विभिन्न जिल्लाको ‘लाइफलाइन’ मानिने नारायणगढ–मुग्लिन सडकको मर्मत गर्न थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने यो राजमार्ग वर्षाका कारण निरन्तर अवरुद्ध हुँदै आएको छ ।

दशैँ नजिकिँदै गर्दा डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो ।

वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिए ।
धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर (पृथ्वी राजमार्ग) र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर (नारायणगढ–मुग्लिन सडक) डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ ।

वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ । नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

यो बजेटमध्ये ८० प्रतिशतभन्दा बढी पृथ्वी राजमार्गमा मात्रै खर्च हुने अनुमान गरिएको छ । उनका अनुसार नारायणगढ मुग्लिन सडकमा मर्मत गर्नुपर्ने धेरै छैन । खनालले भने, “जति सडक मर्मत सुधार गर्नुपर्ने भनेकै पृथ्वी राजमार्ग हो । पृथ्वी राजमार्गको धेरै ठाउँमा अहिले खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

अहिले पृथ्वी राजमार्गको चितवन खण्ड मोवाखोलादेखि मुग्लिनसम्म तीनवटा पहिरो पन्छाउनेकाम भई रहेको छ । मुग्लिनदेखि नारायणगढसम्मको नारायणगढ–मुग्लिन सडकमा चारवटा ठूला पहिरो पनि पन्छाईएको छ ।

डिभिजन प्रमुख बाबुराम सापकोटाले स्थानीयले जथाभावी कच्ची सडक खन्दा निकालिएका माटो र ढुङ्गाले वर्षामा पहिरोको रूप लिएर राजमार्गमा अवरोध हुँदै आएको बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!