आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिमेलम्ची नगर सभापतिमा पाँचजनाको दाबेदारी

मेलम्ची नगर सभापतिमा पाँचजनाको दाबेदारी


मेलम्ची । नेपाली कांग्रेस मेलम्ची नगरपालिकाको सभापतिका लागि पाँच जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । कांग्रेसको १४ औं अधिवेशनका लागि पाँच जनाले दाबेदारी प्रस्तुत गरेसँगै समीकरण रोचकसमेत बनेको छ ।
स्थानीय तहका वडाअध्यक्षदेखि लामो समय कांग्रेसको राजनीति गरेकाहरु सभापतिको आकांक्षी छन् । नगरपालिकाको सभापतिका लागि प्रकाश दाहाल, वसन्त गुरुङ, विष्णुप्रसाद घोरासैनी, रामशरण गिरी र प्रशान्त नेपाल अहिले मैदानमा देखिएका हुन् ।
सबै जनाको उम्मेद्वारी भएर निर्वाचन प्रक्रियामा गए सभापति पद कस्को पोल्टामा पर्छ भन्ने अझै एकिन गर्न सक्ने अवस्था छैन ।
उम्मेवारी दाबी गरेका दाहाल विद्यार्थी राजनीतिबाट छिरेका हुन् । नेपाल विद्यार्थी संघका पूर्व क्षेत्रीय अध्यक्ष, जिल्ला उपाध्यक्ष, तरुण दलको सहसचिव, क्षेत्रीय कार्यसमिति सदस्य हुँदै ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशका सहसचिव बनिसकेका छन् ।
त्यस्तै, अर्का आकाँक्षी गुरुङ मेलम्ची नगरपालिका–३ का वडाध्यक्ष हुन् । २०७० को निर्वाचनबाट सक्रिय रुपमा नेपाली कांग्रेसको राजनीतिमा होमिएका उनी १३ औं महाधिवेशनमा जिल्ला कमिटी सदस्य निर्वाचित भए ।
नगर सभापतिमा दावी गरेका विष्णुप्रसाद घोरासैनी पुराना कांग्रेस हुन् । उनको परिवार नै पहिले देखि नै कांग्रेसमा आवद्ध छ । मेलम्ची नगरपालिका–१३ फटकशीलाका घोरासैनी जागिर छाडेर राजनीतिमा होमिएका व्यक्ति हुन् ।
उनीहरुसँगै सभापति उम्मेद्वारीको होडमा रहेका नेपाल वडा कार्यसमितिमा रहेर काम गरेका व्ययक्ति हुन् । वडामा तरुण दलको अध्यक्षको जिम्मेवारीसमेत उनले गरिसकेका छन् भने अर्का आकांक्षी गिरी पनि राजनीतिमा सक्रिय छन् ।
गएको असोज ५ गते सिन्धुपाल्चोकका वडाहरुमा अधिवेशन भएको थियो । प्राविधिक कारणवश केही वडामा अधिवेशन अझै हुन सकेको छैन । ती वडामा अधिवेशन सकिन बाँकी रहेकाले पूर्व तालिकाअनुसार नगर र गाउँपालिकाको अधिवेशन पनि सिन्धुपाल्चोकमा हुन सकेको छैन ।

 


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!