शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारखाडिचौर–चरिकोट सडकखण्ड : दोस्रो प्याकेज अलपत्र

खाडिचौर–चरिकोट सडकखण्ड : दोस्रो प्याकेज अलपत्र


खाडिचौर ।
दोलखा जिल्लालाई राधजधानीसँग जोड्न लाइफलाइनका रुपमा मानिएको सिन्धुपाल्चोकको खाडिचौर–चरिकोट सडकले अझै पूर्णता पाएको छैन । निर्माण सुरु गरिएको ६ वर्ष बितिसक्दासमेत यो योजना अझै पलपत्र अवस्थामै रहेको छ ।
यो सडिक दुई वटा प्याकेजमा निर्माण सुरु गरिएको थियो । स्थानीयवासीको व्यापक दबाबपछि पहिलो प्याकेजको काम यसै वर्ष सकिएको छ । ६ वर्ष अघि ठेक्का लागेको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटरको २ प्याकेजमध्ये सबैभन्दा अलपत्र दोस्रो खण्डको ३० किलोमिटर हो । पहिलो खण्डको २५ किलोमिटर खण्ड पनि लगातारको दबाबपछि यही वर्ष अघि पूरा भएको छ ।
विगतदेखि नै सुस्त रूपमा काम गरिरहेको सडकमा पटक पटक ठेकेदार बेपत्ता हुँदै सम्पर्क ल्याउँदै गर्दा न त काम भएर सहज यात्रा हुन सकेको छ न ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सकेको छ ।
खाडीचौर–चरिकोट–जिरी सडक विस्तार आयोजनाको दोस्रो प्याकेजको मुडे–चरिकोट खण्डको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीले ३० किलोमिटर सडकको जिम्मा पाएको हो । सडकको मुख्य ठेकेदार भारतीय कम्पनी सकिल हैदरको ५१ प्रतिशत स्वामित्व छ । नेपाली प्रतिनिधि काम नगरी बेपत्ता भएपछि भारतीय कम्पनी सकिल हैदरले पनि काम आफैं आएर काम सक्ने चासो राखेन । बरु शक्ति केन्द्र धाएर पटक पटक म्याद थपेर सडक ओगट्ने काम मात्र भयो ।
विभिन्न बहानामा सडक ६ वर्षदेखि अलपत्र भएपछि सवारीधनी र यात्रुले सास्ती भोग्दै आएका छन् । हिउँदमा धुलो र वर्षात्मा हिलाम्मे हुँदा यातायात व्यवसायीहरूले मात्र ६ वर्षमा करोडौं क्षति बेहोर्नु परेको छ । सडक अलपत्र परेपछि स्थानीय नागरिकले एक हप्ता अघि एक रुपैयाँ संकलन अभियानसमेत गरेर आयोजना प्रमुखलाई बुझाएका छन् ।
आयोजनामा ६ जना आयोजना प्रमुख फेरिए तर एउटा खण्डको काम पूरा हुन सकेन । छैठौं आयोजना प्रमुखको रूपमा भर्खरै आएको आयोजना प्रमुख कृष्णराज पन्त यो रुग्ण आयोजना पूरा गराउनेमै आफ्नो सम्पूर्ण ध्यान गएको बताए । उनले नियमानुसार १० प्रतिशतसम्म जरिवाना गर्नसक्ने व्यवस्थाअनुसार आधाभन्दा बढी विगतमै जरिवानाको रुपमा काटिसकेको बताए । योजनाको ठेक्का ७९ करोडमा लागेको हो ।
६ वर्षदेखि अलपत्र यो सडकमा कार्यरत ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाले पटक पटकको संघर्ष र सम्झौताअनुसार पनि काम नगरी अहिले काम ठप्प भएपछि नागरिक समाजले आन्दोलन गर्दै पनि आएको छ । अलत्रपत्र ठेक्का भएपछि दुई वर्षअघि ठेकेदारको फोटो नै टाँसेर नागरिकले विरोध जनाएपछि केही समय काम पनि ग–यो । हिउँदमा हालेको ग्राभेल वर्षा लाग्दा पानी बगाएर सडकउस्तै पारेको छ ।
चेक बाउन्सको मुद्दामा परेका शंकरमालीका एक सञ्चालक दिपक सापकोटा सम्पर्कविहीन छन् । उनी बेपत्ता भएपछि सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाएको सडक सुधार आयोजनाले ६ महिना यता अर्का सञ्चालक डीबी कार्कीमार्फत पनि काम गराउन थालेको छ । अहिले केही ठाउँमा ग्राभेल भएको छ । ५ किलोमिटर कालोपत्रे गरेको पनि भत्कन थालेको छ ।
आयोजनाले पटक पटक ठेक्का तोड्ने सूचना पनि जारी गर्दै आएको छ तर पहुँचका आधारमा फेरि आयोजना पछि हट्दै छ । पछिल्लो पटक आयोजना प्रमुख भएर आएका सिनियर इन्जिनियर कृष्णराज पन्त जसरी पनि आफू काम गराउने योजनामा छन् । ४० वर्ष अघि स्वीस सरकारको सहयोगमा खाडीचौरदेखि लामोसाँघुसम्मको ११० किलोमिटर सडक बनेको हो । सुरुवाति चरणमा एक लेनको सडक बनेको थियो । सवारी चाप बढ्दै गएपछि भारतीय एक्जिम बैंकको सहयोगमा ७ वर्षअघि सडक सुधार गरी दुई लेनको गर्ने गरी काम सुरु भएको हो । तर ठेकेदारको काम गराइप्रति स्थानीय पनि सन्तुष्ट छैनन् ।
वर्षा लागेपछि हिलाम्मे हुँदा धेरै पटक गाडी तान्नु पर्ने खाल्डाखुल्डी हुँदा यात्रा पनि ढिला हुन्छ । गाडीका पार्टपूर्जामा समेत क्षति बढी आउँछन् । बस चालक अर्जुन खड्का सडक बिगँ्रदा यात्रु पनि नचढ्ने र गाडीको खर्च पनि बढी आउने बताउँछन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!