पहिरोसँगै ठूला ढुंगा खस्दा घर पुर्ने खतरा

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० रामपुरमा सडक माथिबाट लगातार झर्ने पहिरोले घरहरु पुर्ने खतरा बढ्दा स्थानीय त्रसित भएका छन् । रामपुरस्थित पैरावारी टोलवासीलाई पहिरोसँगै आउने गरेका ठूला ठूला ढुंगाले घर बगाउने समस्याले सताएको हो ।
सडक खन्ने क्रममा जमिन हल्लिएपछि अघिलो वर्षदेखि नै यहाँ पहिरोको जोखिम बढेको थियो । पैराबारी–ज्यामिरे सडक खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यो बर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयको भनाई छ । ‘पाँच घर अति नै जोखिममा छन्,’ स्थानीय प्रशान्त कार्कीले भने, ‘भूकम्प प्रभावितले बनाएको तीन वटा र अन्य दुई थप घरमा क्षतिप पुग्नसक्ने देखिन्छ ।’
सामान्य वर्षा हुँदासमेत यहाँ पहिरो खस्ने गरेको छ । पहिरोसँगै बग्ने गरेका ढुंगाका आवाजले स्थानीय रातभर जागै बस्न्समेत बाध्य छन् । ‘यहाँको अवस्थाबारे हामीले अघिल्लो वर्ष नै स्थानीय सरकारलाई जानकारी गराइसकेका छौं,’ उनले सिन्धु खबरलाई भने, ‘तर, स्थानीय सरकारले पनि चासोका साथ हेरेन ।’ पानी पर्न थालेपछी घर छोडेर भाग्नु पर्ने अवस्था रहेकाले नगरको स्थानीयले ध्यानाकर्षण गराएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस