शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारआश्रयको खोजीमा बाढीपीडित सहर पस्न बाध्य

आश्रयको खोजीमा बाढीपीडित सहर पस्न बाध्य


मेलम्ची । गएको १ गतेदेखि लगातार आएको बाढीले बेघरबार बनेका बाढीपीडित आश्रयको खोजीमा सहर पस्न बाध्य बनेका छन् । महिनौंदेखि त्रिपाल र टहरामा सास्ती खेपिरहेका बाढीपीडितहरु अहिले धमाधम मेलम्ची र हेलम्बु क्षेत्र छाड्न बाध्य बनेका हुन् ।
हेलम्बु गाउँपालिकाका अधिकांश बाढीपीडितले गाउँ छाडेका छन् ।

बाढीले क्षतिग्रस्त हेलम्बुको चालिसेगाउँ, किउल, तालामाराङ, चनौटेबजार, गणेशबगरका पीडितहरु कतै बनेपा, धुलिखेल, काठमाण्डौं लगायतका क्षेत्रमा सरेका हुन् । त्यसैगरि मेलम्ची नगरपालिकाका भट्टे, सिमखेत, मेलम्ची बजार, दुलाल गाउँका बाढीपीडित थातथलो छाडेर राजधानी, बनेपा र अन्यत्र स्थानमा जान थालेका छन् ।
असार १ गतेदेखि निरन्तर बाढी आएर परिवारका सदस्य, घरखेतबारी सबै बगाएपछि मेलम्ची र हेलम्बुका बाढीपीडितहरु थातथलो छाडेर हिँड्न बाध्य बनेका हुन् । हेलम्बुको भे्रमाथाङ पहाड खसेर बाढीमा रुपान्तरण भएर आएको बाढीले हेलम्बु, मेलम्ची, पाँचपोखरी गाउँपालिकाका एक हजार पाँच सय घर विस्थापित भएका थिए । उक्त संख्याका बाढीपीडितहरु अहिले थातथलो छाडेर हिँड्न थालेको हेलम्बुका एमाले नेता हस्त पण्डितले दुःखसो गरे ।

बाढीले ३६६ घरपरिवार घरबारविहीन भएका थिए । बाढीबाट बचेका र उच्च जोखिममा रहेका घरपरिवार पनि थातथलो छोडेर हिँड्न थालेका छन् । यसअघि सात सय भन्दा बढी विस्थापित हरु बनेपा र राजधानी गएर बसिसकेका छन् । हेलम्बु गाउँपालिका चनौटेकी सुभद्रा रुपाखेतीले बाढीले घर जग्गाजमीन सबै बगाएपछि विरामी श्रीमान् लिएर राजधानी पुगेकी छिन् ।
‘राजधानीमा जे काम पाइन्छ, त्यही गरेर खाने र कोठा लिएर बस्छौं ।’ उनले भनिन् । उनीजस्तै मेलम्ची बजारका बाढीपीडित श्यामकृष्ण श्रेष्ठले बाढीले घरखेत सबै बगाएपछि केही बाँकी नरहेका कारण राजधानी गई कोठा लिएर काम गरेर खाने बताउँछन् । उनीहरु जस्ता दैनिक ५० भन्दा बढी बाढीबाट विस्थापित परिवार थातथलो छाडेर अन्यत्र बसाईंका लागि जाने गरेका छन् ।

थातथलो छाडेर हिँड्नेहरु सरकारले घर बनाइदिए फर्कने बताउछँन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले १५ सय विस्थापित मध्य सात सय बनेपा, ललितपुर, काठमाडौं र अन्य स्थानमा गएर बस्न थालेको जानकारी दिए । बाढीले परिवारका सदस्य, घरखेत, जग्गाजमीन गुमाएका विस्थापितहरु सरकारसँग पुनः स्थापनाको माग गरिरहेको बाढीपीडित तथा मेलम्चीका अगुवा सागरकुमार श्रेष्ठले बताउँछन् । बाढीमा मेलम्ची, हेलम्बु लगायतका स्थानका गरि तीन सय घर बगाएको छ भने एक हजार भन्दा बढी घर विस्थापित भएका छन् । सो बाढीमा छ जनाको निधन भएको थियो । २० जना अझै बेपत्ता रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!