शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारपत्रकार महासंघ वाग्मती प्रदेशले गर्याे ११ बुँदे घाेषणा पत्र जारी

पत्रकार महासंघ वाग्मती प्रदेशले गर्याे ११ बुँदे घाेषणा पत्र जारी


नुवाकाेट । नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको दाेस्राे पूर्ण बैठकले विभिन्न ११ बुँदे घाेषणा पत्र जारी गरेकाे छ । नुवाकाेटकाे विदुरमा भएकाे दुई दिने वैठकले प्रदेश भित्रका आमसञ्चार माध्यमको अबस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल गर्दै घाेषणा पत्र जारी गरेकाे हाे ।
बैठकमा भएका छलफल र त्यसको निश्कर्षको आधारमा नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिद्वारा नुवाकोट घोषणा पत्र जारी गरिएकाे महासचिव कृष्ण सारूमगरले जानकारी दिए ।
यस्ता छन् घाेषणा पत्र
१. प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न यो बैठक सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदछ ।
२. कोभिड महामारी लगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा यो बैठकको ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारहरुलाई पेसाबाट बिमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन यो बैठक सम्बन्धीत पक्षसँग माग गर्दछ ।
३. कोभिड महामारीका कारण जारी लकडाउनका कारण स्वरोजगारमुलक सञ्चारमाध्यम आर्थिक रुपमा धराशयी बनेको छ । केही सञ्चारमाध्यम बन्द भएका छन्, कतिपय बन्द गर्नुपर्ने अबस्थामा पुगेका छन् । यो परिस्थितिमा सञ्चारमाध्यम टिकाउन आबश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग यो बैठक माग गर्दछ ।
४. बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत सरकार आफैले सञ्चार गृह सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । महासंघले यो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएपनि यसको सुनुवाई भएको छैन । स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने प्रकृया तत्काल स्थगन गर्न यो बैठक प्रदेश सरकारसँग माग गर्दछ ।
५. नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले यो आर्थिक वर्षलाई तालिम वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ । प्रदेश भित्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने र यस क्षेत्रमा प्रवेश गर्न चाहानेहरुलाई शिप विकास तालिम सञ्चालन गर्ने समितिको उद्देश्य हो । यो अभियान सफल पार्न आबश्यक सहयोग गर्न महासंघ सम्बन्धीत सबै पक्षलाई आग्रह गर्दछ ।
६. स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने बिज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न यो समिति सरकारसँग माग गर्दछ ।
७. नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसारको सदस्यहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने भएकाले यो अभियानमा सहयोग गर्न यो बैठक सबै जिल्ला शाखाहरुलाई आग्रह गर्दछ ।
८. देशकै पहिलो सञ्चार रजिष्ट्रार बागमती प्रदेशमा नियुक्त भएको छ । प्रदेश सञ्चारमाध्यम ब्यवस्थापन ऐनले रजिष्ट्रारलाई तोकेको अधिकारहरु कटौती गर्न प्रदेश सरकारले उक्त ऐन संसोधन गर्न लागेकोप्रति आपत्ति जनाउँदै रजिष्ट्रारका अधिकारहरु कटौती नगर्न प्रदेश सरकारसँग माग गर्दछौं । साथै बागमती प्रदेश सरकारले विभिन्न कानुन बनाउने चरणमा रहेको सुन्नमा आएको छ । यो सन्दर्भमा सञ्चार क्षेत्रसँग सम्बन्धीत कानुन बनाउने क्रममा महासंघसँग परामर्श गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारको हकहितको पक्षमा कानुन बनाउन महासंघ सरकारसँग आग्रह गर्दछ ।
९. ऐतिहासिक तथा पर्यटकीय जिल्ला नुवाकोटको पर्यटन विकास र प्रचारका लागि सञ्चारमाध्यमहरुले अझ प्राथमिकतामा राख्ने र नुवाकोटको पर्यटन क्षेत्र विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई गुरुयोजना तयार गर्न यो बैठक आग्रह गर्दछ ।
१०. प्रदेश भित्र क्रियाशील पत्रकारहरुलाई कोभिड बिरुद्धको खोप दिन सहजीकरण गर्ने प्रदेश सरकारलाई धन्यवाद दिंदै खोप लगाउन छुट भएका पत्रकारहरुलाई तत्काल खोप लगाउने व्यवस्था गर्न सम्बन्धीत निकायसँग यो बैठक माग गर्दछ ।
११. नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको बैठकमा आतिथ्यता प्रदान गर्ने नेपाल पत्रकार महासंघ, नुवाकोट शाखा र सहयोग गर्ने सबै प्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!