पहिरोको जाेखिममा रहेका मेलम्चीका ३४ परिवारलाई तत्काल सार्नुपर्ने

मेलम्ची । अघिल्लाे बर्खामा आएकाे पहिराे यस बर्ष पनि झर्दा मेलम्ची नगरपालिका ८ केउरेनीका ३४ घर जाेखिममा परेकाे छ ।
लगातारको बर्षाले जमिन कटान गर्दा केउरेनीस्थित खैरेका २७ र छाँयालीका ७ घर जोखिममा परेकाे हाे ।
पोहोर देखिनै पहिरो जान थालेको ठाँउमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेकाे स्थानीयकाे भनाई छ । निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएको स्थानीय कान्छामान दाेङले बताए । पटक पटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराँउदा पनि चासो नदिएको उनकाे गुनासाे छ ।
पहिराेले घर जोखिममा रहेको बताउँदै मेलम्ची ८का वडाध्यक्ष ठंकराज गिरीले उनीहरुलाई तत्काल अस्थाई बासको व्यबस्था गर्नुपर्ने बताए ।
यसअघि जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञ सहित अनुगमन गर्न आग्रह गरिएको तर कार्यान्वयन नगरेको उनले जानकारी दिए । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थाई बसोबासको व्यबस्था मिलाउन लागिपर्ने सुनाए । उनले भुर्गवबिदको टोली ल्याई बस्तीको अध्ययन गराउनु पर्नेमा जाेड दिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस