सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाचारखेलाडीमा आशा जगाउँदै रंगशाला

खेलाडीमा आशा जगाउँदै रंगशाला


कविता खड्का
भोजपुर, १० असार ।

खेलकुद क्षेत्रमा गर्विलो ईतिहास बोकेको ठाउँमध्ये एक हो, भोजपुर । अन्र्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउने अल्ट्राधाविका मिरा राईदेखि राष्ट्रियस्तरका ख्यातीप्राप्त ब्याडमिन्टन र उसु खेलाडी पनि यो भूमिले जन्माएको छ । राष्ट्रियस्तरका खेलकुदमा राम्रो दख्खल राखेपनि दिर्घकालिन योजना नहुँदा सोचेजति खेलाडी उत्पादन हुन सकेको छैन । खेलकुदका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ, युवा पिँढीलाई । स्कूलको कम्पाउण्ड र सार्वजनिक ससाना स्थलमै यहाँका विद्यार्थी र युवापुस्ताहरु आफ्नो खेलसिपलाई जसोतसो तिखार्ने गरेको विडम्बना छ । जसमा प्रमुख कारण नै खेलमैदान अर्थात रंगशाला अभाव हुनु हो ।
मुलुक संघिय संरचनामा गएसंगै यहाँको खेलकुद क्षेत्रमा आशा जागेको छ । खेलकुदलाई प्रोत्साहन दिन स्थानीय सरकारदेखि प्रदेश सरकार लागी परेका छन् । शेरधन राई मुख्यमन्त्री भएसंगै उनको गृहजिल्लामा खेलकुद क्षेत्रले निकै फड्को मारेको छ । विगतको खेलकुदका कमजोर र आधाअधुरा भौतिक पूर्वाधारहरुले नयाँ रुप पाएका छन् । जिल्लातहदेखि हरेक स्थानीयतहमा व्यवस्थित रंगशाला तथा खेलमैदान निर्माणको काम अघि बढेका छन् । जसले खेलाडी र खेलप्रेमीमा उत्साह थपिएको छ ।
प्रदेश १ सरकारको कुल १४ करोड ५ लाख २६ रुपैँयाको प्राविधिक ईस्टिमेटमा निर्माणाधिन भोजपुर रंगशालाको कामले तीव्रता पाएको छ । वर्षौदेखि खेलमैदान अभाव झेलिरहेका खेलाडीका लागि उत्कृष्ट अन्र्तराष्ट्रियस्तरको रंगशाला बनाउने लक्ष्यले निर्माणाधिन उक्त रंगशालाको प्यारापिट, कभर्ड हल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय भौतिक पूर्वाधारको काम भईरहेको छ । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी रायमाझी मार्सेली जेभीका अनुसार २०७६ कार्तिक ७ गतेबाट सुरु भएको निर्माण कार्य २०८० साल जेष्ठ १८ को समयावधिमा सक्ने सम्झौता भएको छ । समयमै रकम निकाशा हुनसके समयावधिभन्दा झण्डै डेढ वर्ष अगाडी नै काम सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताए ।
भोजपुरको फुटबल क्षेत्रमा टेवा पु¥याउने लक्ष्यले २०६४ सालमा पहिलो जिल्ला विकास समिती बोर्डले ५५ लाख मूल्यमा जिल्ला खेलकुद परिषद मार्फत रंगशालाको जग्गा खरिद गरिएको थियो । जिविसबाट छुट्टाईएको केही रकमबाट रंगशालाको स्तरोन्नती गर्ने काम थालिएपनि बजेट अभावमा अगाडी बढ्न सकेन । रकम जुटाउन वर्षेनी रंगशालाको स्तरोन्नती शिर्षक बनाउँदै २ लाख, ३ लाख बजेटमा थोरैथोरै स्तरोन्नती गर्ने काम भयो ।
कछुवा गतीमा रंगशालाको स्तरोन्नती काममा २०७० सालमा तात्कालिन नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य एबम् वर्तमान प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले आफ्नो सांसद कोषमार्फतको १० लाख बजेटले रंगशाला फार्ने काम भयो । स्क्राईटेरले माटो फालेर खेलमैदान सम्याउने काममै बजेट सकियो । त्यस्तै ०७३÷७४मा भोजपुर नगरपालिकाले रंगशालाका लागि छुट्याएको ५ लाख बजेटले रंगशाला सम्याएर केहि समयका लागि खेल्न योग्य बनाईएको थियो ।
वर्षौदेखि बजेट अभाव झेल्दै आएको रंगशाला झण्डै १२ वर्षमा ४० लाख बराबर लागतमा रंगशालाको केहि प्रतिशत स्तरोन्नती काम सम्पन्न भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडा अन्र्तगत स्तरोन्नतीमा केहि रकम छुट्याउदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रंगशालाको रुपमा भोजपुर रंगशाला बन्ने भएपछि सिंगो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वर भुमि बन्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले बताउँछन् । थोरै बजेटले पर्याप्त नभएपछि वेवारिसे जस्तै बन्दै आएको रंगशालाको स्वरुपले जिल्लाकै प्रतिष्ठा बोक्ने किसीमको रंगशाला हुनेमा भोजपुरबासी विश्वस्त रहेको उनले बताए ।
फुटबल संघले आधिकारिक रुपमा सम्बन्धित निकायसामु पहल गरेपनि रंगशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल संघले पटकपटक रंगशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठुला आयोजना अन्र्तगत प्रदेश सरकारले नमुना रंगशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको संघका कोषाध्यक्ष विनम श्रेष्ठले बताए ।
उनले भने, ‘वर्षौपछि रंगशालाको नयाँ रुप लिने सपना पुरा हुने भएको छ । स्तरोन्नतीका लागि पर्याप्त बजेट र उपकरण सामाग्री पनि पर्याप्त हुने भएको छ । यो भन्दा अगाडीका समयमा विविध प्राविधिक कारणबस बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।’ कुल २६ रोपनी क्षेक्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाई, उत्तरतर्फ ५५ मिटरको चौडाई, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ १ सय ५ मिटरको लम्बाईमा मैदान सम्याईएको छ ।
रंगशाला बनेपछि राम्राराम्रा खेलाडी उत्पादन हुने र खेलका लागि बाहिर पलायन हुनुपर्ने सास्ती हट्ने संघका अध्यक्ष प्रविण कुमार सुवालले सुनाए । ‘साँघुरो मैदानमा अभ्यास गर्दा उनीहरुको राम्रो फिजीकल फिटनेस र ट्रेनिङ राम्रोसंग गर्न नसकिने हुन्छ । जसकारण खेलको नतिजा सोचेभन्दा राम्रो नआउनु प्रमुख कारण त्यहि हो ।’ उनले भने, ‘अब धनकुटा, ईलाम, संखुवासभामा रंगशाला र खेलाडी उत्पादन हुँदा भोजपुरमा पनि राम्रो राम्रो खेलाडी उत्पादन गर्न सकिने भएको छ ।’
हालसम्म उक्त रंगशालाको कार्यालय भवन, फाउन्डेसन लगाउने लगायत स्ट्रक्चरल काम अन्तिम चरणमा पुगेको छ । यस्तै प्यारापिट, रिटेनिङवाल लगाउने, दुवो लगाउने काम भईरहेको छ । कामलाई गुणस्तरीय बनाउन नियमित रूपमा अनुगमन र मापदण्ड अनुरुपकै चेकजाँच समेत गर्दै आएको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनिस कुमार झाले बताए । रङ्गशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केही संरचनाको विषयमा भोजपुर जिल्ला फुटबल संघले पनि ध्यानाकर्षण गराउदै आएको छ ।
भोजपुर रंगशालासंगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधिन अन्तराष्ट्रियस्तरको ‘मिरा राई रंगशाला’ काम पनि तीव्रगतिमा भईरहेको छ । गाउँपालिकाको क्रमागत बजेट अन्र्तगत ५५ लाख र प्रदेश १ सरकारको एक करोड ३५ लाख गरि झण्डै दुई करोडको लागतमा सो रंगशाला निर्माण भईरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजना अन्र्तगतकै ६ करोड लागतमा षडानन्द नगरपालिकाको दिङला रंगशाला पनि निर्माण काम भईरहेको छ । यस्तै प्रदेश १ सरकारकै ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान र २५ लाख लागतमा हतुवागढी गाउँपालिका १, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रंगशाला निर्माण क्रम जारी छ । अन्य दर्जनौ खेलकुद आयोजनाहरु सञ्चालनमा छन् । जसले खेलकुद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!