Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारकोरोना रोकथाममा पत्रकार महासंघसहित विभिन्न संस्था र व्यक्ति सक्रिय

कोरोना रोकथाममा पत्रकार महासंघसहित विभिन्न संस्था र व्यक्ति सक्रिय


चौतारा । जिल्लामा कोरोना संक्रमण दिनहुँ बढेसँगै यसको रोकथामका लागि विभिन्न संघसंस्था तथा समाजसेवीसमेत लागिपरेका छन् । कोभिड १९ बाट जिल्लावासीलाई जोगाउन र विशेष गरि सिन्धुपाल्चोकमा कोरोना संक्रमण फैलन नदिन संस्था तथा व्यक्तिहरुको सहयोग बढेको हो ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति, विभिन्न स्थानीय तह, सुरक्षाकर्मी, अस्पताललगायत स्वास्थ्य केन्द्रमा अहिले व्यक्ति तथा संस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने क्रम चलेको छ । केही समाजसेवीले आफ्नो नीजि सवारी साधन संक्रमितलाई ओसारपसार गर्न समेत प्रयोगमा दिएका छन् । कतै स्वास्थ्य सामग्री, सिलिण्डर, अक्सिजन जस्ता अत्यावश्यक सामग्री सम्बन्धित निकायलाई सर्वसाधारणको उपचारमा प्रयोग गर्नका लागि हस्तान्तरण गरि कोरोना परास्त गर्न सिन्धुपाल्चोक सक्रिय बनेको हो ।
साताअघि नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गर्यो । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान मास्क, अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन सिलिण्डर ३० थान प्रदान गरेको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सुनसरी पुगेर एक सय ४२ सिलिण्डरमा अक्सिजन भरेर सिन्धुपाल्चोक ल्याएको छ । सो अक्सिजन चौतारा अस्पताल, खाडिचौरस्थित सिन्धु सदावहार अस्पताल र जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई हस्तन्तरण गरिएको छ । पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठले महासंघ नागरिक समाजको अगुवा संस्था भएकाले नागरिकको हितका लागि काम गरेको बताए ।
चौतारा अस्पतालमा रहेका र सिल्क कम्पनीले हस्तन्तरण गरेको सिलिण्डरमा पत्रकार महासंघको खर्चमा अक्सिजन भरेर सुनसरीबाट सिन्धुपाल्चोक ल्याइएको हो । महासंघले खडा गरेको कोभिड १९ पत्रकार कोषबाट रकम खर्चिएको हो । कुल उठेको मध्ये ४० प्रतिशत सर्वसाधारणा लागि रकम प्रयोग गरिने कार्यविधि अनुसार अक्सिजन ल्याएको महासंघले जनाएको छ ।
त्यस्तै व्यापारीहरुको संस्था सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले समेत जिल्लाा रहेका अस्पताल र सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरि कोरोना रोकथाममा ऐक्यवद्धता जनाएको छ ।
उद्योग बाणिज्य संघका अनुसार सर्जिकल मास्क ८० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स २ हजार सात सय पीस, स्यानिटाइजर आठ सय लिटर, थर्मल गन ३३ वटा, अक्सिमिटर ३३ थान, पीपीइ एक सय वटा र ग्लोब्स पाँच हजार थान वितरण गरिएको हो । त्यस्तै अक्सिजन कन्सेक्टर (इलेक्ट्रिक)तीन थान, र अक्सिजन सिलिन्डर ८३ थान र स्वास्थ्य केन्द्रमा पानीको समेत व्यवस्था गरिएकोे संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले जानकारी दिए ।
सामाजिक, व्यापारिक, नीजि तथा नागरिक समाजका संस्थाहरु मात्रै नभई राजनीतिक व्यक्तिहरु पनि कोरोना रोकथाम अभियानमा व्यस्त छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्व संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबीच जिल्लाभरका चार अस्पतालमा बेडसहित अक्सिजन उपलब्ध गराएका छन् । जिल्लामा एक महिनामा एकसय बेडको कोभिड उपचार केन्द्र संञ्चालन गर्ने कार्यक्रमअनुरुप बस्नेतले जिल्लाका अधिकाशं अस्पतालमा बेड अक्सिजनको व्यवस्था गरेका हुन् । बस्नेतले बलेफीको जलविरेस्थित जलविरे अस्पताललाई ५ बेड र ४० लिटर क्षमताको ५ वटा अक्सिजन दिए । इन्द्रावती गाउँपालिकास्थ्ति नवलपुरमा रहेको नवलपुर अस्पतालमा ५ बेड, ५ अक्सिजन र जिल्ला अस्पताल चौतारामा ४० लिटर क्षमताको १० वटा सिलिण्डर सहयोग गरे । यसअघि बस्नेतले खाडीचौर बजारस्थित सिन्धुसदाबहार अस्पताल र भोटेकोशीको चाकुमा ३७ बेडसहित अक्सिजन दि“दै विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । कोरोना संक्रमण फैलन नदिन र संक्रमितको उपचारका लागि आफू सदैव तयार रहेको पूर्व सूचना तथा सञ्चार मन्त्री बस्न्ेतले प्रतिक्रिया दिए ।
मन्त्री बस्नेतसँगै कांग्रेस जिल्ला सभापति पनि आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री वितरणमा तल्लीन छन् भने नेपाली कांग्रेस क्षेत्र नं. १ का अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो नीजि सवारीमा संक्रमित बोकेर अस्पताल धाउने गर्दछन् ।
सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट केन्द्र स्थापना हुँदैछ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७५ लाख रकम विनियोजित भइसकेको छ । प्लान्ट केन्द्र राख्न मैले पहल गरेको भन्ने सभामुख अग्नीप्रसाद सापकोटा र पूर्व मन्त्री शेरबहादुर तामाङको आ आफ्नै दावी छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!