Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारकोरोना कहर : जोगिनै सकस

कोरोना कहर : जोगिनै सकस


चौतारा ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा संक्रमितको संख्या उकालो लाग्दैछ । सरोकारकारवाला निकायले न्यूनीकरणका लागि पहल गरिए पनि कोरोना झन् झन् ब्ढ्दो अवस्थामा रहेको हो ।
सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य, वडाअध्यक्षहरु समेत कोरोना संक्रमित छन् । त्यस्तै विभिन्न कार्यालयका प्रमुख, अधिकृतलगायत अन्य कर्मचारीहरुसमेत अछुतो छैनन् । सुरक्षाकर्मी, स्वाथ्यकर्मीहरु पनि संक्रमित छन् । यी सँगै सञ्चारकर्मी उच्च जोखिममा छन् । सर्वसाधारण नागरिकमा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले जोगिन निकै सकस रहेको देखिन्छ ।
जिल्ला तथा स्थानीय तह र वडा हाँकेर बसेका सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिले सबैलाई आफू जोगिएर होम आइसोलेसन गर्न सुझाएका छन् ।
सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको सँगै झन् कोरोना त्रासले सताएको छ । कोरोना रोकथाम तथा सर्वसाधारणलाई सचेतना गराउन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत सडकमा सक्रिय छ । उनीहरुसँगै जनप्रतिनिधिसमेतले अनावश्यक पसल बन्द गर्ने र घरमै मास्क, सेनिटाइजर लगाएर बस्न अपिल गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बारम्बार साबुन पानीले हात धोई घर भित्रै बस्न आग्रह गरेका छन् । आज एकै दिन यो नगरपालिकामा ४२ संक्रमित थपिएका छन् । त्यसैले मेयर तामाङले आफ्नो नजिक रहेका जो सुकै पनि संक्रमणको जोखिममा रहेकाले आफू सुरक्षित रहन र कसैको सम्पर्कमा नआउन आग्रह गरेका हुन् ।
त्यस्तै इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कोरोना परास्त गर्न प्रशस्त स्वास्थ्य सामग्री (जस्तै मास्क, सेनिटाइजर, तातोपानी) को प्रयोग बढाउन गाउँवासीमा अपिल गरेका छन् । ‘यो रोगले उमेर, लिंग, नाता र स्वास्थ्य अवस्था हेर्दैन, सबै उत्तिकै जोखिममा भएकाले सावधानी अपनाउनु जरुरी छ,’ उनले सिन्धु खबरसँग भने, ‘सावधानी अपाउँदा पनि केही समस्या परेमा गाउँपालिकामा सम्पर्क गरेमा आवश्यक सहयोग हुनेछ ।’ इन्द्रावती गाउँपालिकामा आजै १४ जना संक्रमित भएका छन् ।

बिहीबार नमूना लिइएका २२६ जनाको परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिएका छन् । अहिले सिन्धुपाल्चोकको विशेषगगरी चौतारा साँगाचोकगढी नगरपालिकाको कुविण्डे, चौतारा र कदमबास हटस्पट बनेको छ भने हेलम्बु गाउँपालिका र इन्द्रावती गाउँपालिका उच्च जोखिममा रहेको देखिन्छ । यी दुई स्थानीय तहमा संक्रमितको संख्या बढ्दो छ ।
आज आएको नयाँ डाटासहित सिन्धुपाल्चोकमा संक्रमितको संख्या २ सय ६३ जना पुगेको छ । तीन जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!