शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारपराजुलीको कथा : पाइलैपिच्छे हण्डर खाँदै, आफू बाँच्दै परिवार बचाउँदै

पराजुलीको कथा : पाइलैपिच्छे हण्डर खाँदै, आफू बाँच्दै परिवार बचाउँदै


ठूलोसिरुवारी ।
चौध वर्षको उमेरमै आफूसहित चार जनाको परिवार पाल्ने जिम्मेवारीे काँधमा थपिएपछि पुरानो ऋण तिर्नकै लागि २६ डिसम्बर २०१९ मा उनी सयूक्त अरब इमिरेट्स (यूएइ) उडे । भूईंचालोले भत्काएको घर बनाउने अर्काे सपना देख्दै यूएइको दुबई पुगेका चौतारा साँगाचोकगढी नगरपालिका १४ डाँडागाउँका २२ वर्षिय राजु पराजुली आफू त्यतिबेला ‘दलाल’ फन्दामा परेको चाल पाए, जतिबेला सम्झौता विपरितको काम गर्न बाध्य बने ।
नेपालबाट दुबईका लागि उड्दै गर्दा उनलाई होटलमा ८ घण्टाको कामका लागि मासिक आठ सय दिराम र ओभरटाइम सुविधाको आश्वासन दिइएको थियो । तर, विरानो मुलुक पुगेका पराजुलीलाई दैनिक १२ घण्टा खट्नुपर्ने गरि क्लिनरको काम गर्न लगाइयो । राजधानीको बसुन्धरास्थित एम बी रेस्ट्रोसेज नामक मेनपावरका सुरेश तामाङको लहैलहैमा फसेर परिवारलाई अबका दिनमा खुशी र सुखी राख्ने उनको सपना त्यतिबेला चकनाचुर भयो जब सम्झौता विपरितको काम गर्नुपर्दा भर परेर विदेश पठाउने सुरेश सम्पर्कविहीन बने । ‘मैले एकै दिन दजैनौंपटक फोन गर्थे, तर तिनले उठाएनन्,’ उनी भन्छन्, ‘२÷३ दिनपछि त फोन नै स्वीच अफ गरिदिए ।’ सुरेशले उनलाई दिउँसो मात्रै काम गर्नुपर्छ भनेका थिए । तर त्यहाँ उनलाई रातको समयमा काम लगाइएको थियो ।
विदेशी भूमिमा अर्काे सहारा नपाएका पराजुलीले आफ्नो कम्पनीमा सम्झौता अनुसारको मात्रै काम गर्ने अडान राखे । दुबईस्थित उनी कार्यरत फ्लेक्स फर्मासिलिटी म्यानेजमेन्टले सप्लायर्सको काम गर्दथ्यो । ‘दिनहुँ क्लिनरको काम नगर्ने अडान राखेपछि मलाई १५ दिनपछि हाउस किपिङको काम दिए ।’ उनले भने ।
मेनपावरले राजुसँगै एकै साथ चौध जनालाई दुबई उडाएको थियो । ती सबै नेपालमा गरिएको सम्झौता विपरित काम गर्न बाध्य बनेका थिए । ‘बेलुकी ८ बजे ड्यूटीमा हिँडेपछि भोलिपल्ट बिहान १२ बजे कोठामा आइपुगिन्थ्यो,’ उनले भने, ‘काम गर्ने र बस्ने ठाउँ झण्डै डेढ घण्टा टाढा भएकाले पनि दुःख पाइयो ।’ उनका अनुसार यूएईको जुमेरामा काम र जवलाली ११ मा आवास थियो । ‘जुत्ता लगाएर लामो समय काम गर्नुपर्दा खुट्टाका छाला झरेका थिए ।’ उनले त्यतिबेलाको फोटो देखाउँदै भने, ‘त्यति धेरै काम गर्नुपर्दा पनि ब्रेकफास्टका लागि भनेर जम्मा १५ मिनेट ब्रेक पाइन्थ्यो ।’
हालखुट्टाका छाला झर्ने, सुन्निने, दुख्ने अनि नाकबाट लगातार रगत आउने समस्या हुँदासमेत कम्पनीले रेष्टका लागि उनलाई समय दिएन । ‘मलाई यस्तो समस्या पर्दा कहाँ जाने रकस्लाई भन्नेबारे थाहा थिएन,’ उनले विगत सम्झें, ‘रोऔं रुन सकिएन, हाँसौ कसरी ?’ उनले पछि यो समस्या ११ जनवरी २०२०मा भारतीय साथीलाई सुनाए । ती साथीले समस्या सुल्झाउनका लागि नेपाली राजदुतावासमा जानुपर्ने सुझाउ दिएको उनी सम्झन्छन् । उनै भारतीय साथीले दुबईमा नेपाली श्रमिकको हितका लागि स्थापना गरिएको एक मानवअधिकारका बारेमा काम गर्ने संस्थासँग सम्पर्क गराइदिएका थिए ।
फेब्रुअरीको दोस्रो साता बल्ल त्यो संस्थाका पदाधिकारी (अहिले नाम बिर्सिएँ) सँग भेट भएपछि उनले आफूलाई केही राहत महसुस गरे । उनले सोचे, ‘अब काम राम्रो पाइन्छ ।’ तर त्यो हुन सकेन । त्यो संस्थाले आफूलाई कम्पनीले दिएको दुःखबारे सबुद राख्नु भनेका थिए । उनले नेपालबाट बिजोग हुने गरि दुबई ल्याउने मेनपावरलाई ब्लक गर्नेसमेत आश्वासन दिएको बताए । ‘संस्थाको सम्पर्कबाट पनि केही हुन सकेन, न राम्रो काम पाइयो, न मेनपावर ब्लक भयो ।’ उनले दुखेसो पोखे ।
जन्मभूमि छाडेर विदेशिएको भर्खर दुई महिना पुगेको मात्रै के थियो उनको वैदेशिक रोजगारीका क्रममा अर्काे दुःखको पहाड अग्लियो कोभिड १९ । कोभिडकै कारण १२ मार्च २०२० मा लकडाउन सुरु भयो । कम्पनी पनि बन्द भयो । कम्पनीले बस्ने, खाने सुविधाबाट वञ्चित गरायो । उनीसँगै करिब चार सय नेपाली अलपत्रमा परे । नेपाल फिर्ने सोच बन्यो । ६ सय ६० दिराममा टिकट पनि खरिद गरे अनि २१ तारिखको फ्ल्याइटको तय भयो ।
एक लाख २५ हजार रुपैयाँ ऋण गरेर गएको पैसा फिर्ता गर्न नपाउँदै नेपाल फर्कनुपर्ने भएपछि उनले त्यतिबेला आमा, भाई बहिनी अनि घर बनाउने सपना सम्झें । पुरानो ऋण तिर्ने, घर बनाउने, आमा शान्ती (४५)लाई पाल्ने, भाई विशाल(२०) र बहिनी सृष्टी (१४)लाई पढाउने उनको जिम्मेवारीमा धक्का लाग्यो । राजु १४ वर्ष हुँदा बुबाको मृत्यु भएपछि जेठो छोरो भएकाले घर धान्ने जिम्मेवारी उनको काँधमा आइलागेको हो ।
नेपाल फर्कने टिकट त भयो । घर फर्कन पाउने अर्काे सपनामा फेरि तुषारापात भयो । २१ तारिखको फुल्याइट यसकारण क्यान्सिल भयो २० मार्चदेखि नै नेपालको एअरपोर्ट कोभिडकै कारण बन्द भयो । टिकट फिर्ता भएन । कम्पनीले राख्ने र खुवाउने काम नगर्ने भनेर सूचना जारी गरेपछि अर्काे बिजोग सुरु भएको उनी बताउँछन् । ‘हामी कोही सँग पैसा पनि थिएन, बस्न खान समस्या भयो, कम्पनीले पनि निकालिदियो,’ उनले भने, ‘दुतावासले वास्तै गरेन, हामी घर न घाटका भयौं ।’
बारीको नाममा पाइला टेक्ने ठाउँसमेत छैन उनको परिवारको । अलि अलि भएको खेतबाट आएको धानको उत्पादनले जेनतेन भात खान धौ धौ हुन्छ । ‘बुबा नभएको पीडा मलाई त्यतिबेला भएको थियो,’ उनी भन्छन्, ‘कमाएर खुवाउनुपर्ने म आफै अलपत्र परेपछि निकै दुःख लाग्यो ।’
कम्पनीले निकालिदिएपछि खान मात्रै हैन सुत्न पनि समस्या भयो । दुवईको गैर नेपाली आवाीय संघको पहलमा कम्पनीमा बस्न पाउने ब्यवस्था भयो । तर यसअघि प्रयोग गरिरहेको ओड्ने ओच्छ्याउने भने कम्पनीले लिएर गयो । चिसो भुईंमा त्यत्तिकै सुतेको उनले स्मरण गरे ।
पैसा नभएपछि खानैका लागि पनि निकै समस्या झेले पराजुलीले । कुनै विकल्प नभएपछि घरबाट व्याज दिने गरि ऋण लिएर परिवारले उनलाई पैसा पठाइदिए । त्यतिबेला २ हजार दिराम खर्चका लागि पराजुलीलाई परिवारले पठाइदिएको हो । ‘सबै साथीले खानका लागि नेपालबाटै पैसा माग्नुपर्यो,’ उनले सुनाए, ‘केहीले श्रीमतीको सुन बेचेर पठाए, कतिले घरमा पालेको भैंसी बेच्नुपरेछ ।’ त्यतिबेला पैसा नभएकै कारण सिंगो ३ दिन भोकै बसेको नमिठो अतित उनले सुनाए ।
अलपत्र पर्नु पराजुलीसहितको टोलीलाई सामान्य लाग्न थाल्यो । दुबईमा एक दिराममा एउटा रोटी पाइन्छ । त्यो पनि पानीसँग हरेक दिन आधा आधा रोटी खाएर ज्यान बचाएको उनको अनुभव छ ।
पैसा कमाउने सपना संगाल्दै विदेशिएको सात महिना बित्यो । कोभिड १९ का कारण भएको लकडाउनले उनीहरुलाई निकै सतायो । घरबाट पैसा माग्नेलगायतबाट उनीसहितको नेपाली टोलीले करिब ४ हजार रुपैयाँ जम्मा गरेको पैसाले खरिद गरेर खाएको सामग्रीले एउटा चरणको लकडाउन बितेको हो । यो सँगै त्यहाँ रहेका नेपाली संघसंस्थाको केही राहत सामग्री पनि उनीहरुले पाए ।
पहिलाको कम्पनी ब्ल्याक लिस्ट मा परेकाले खुल्न पाएन । अर्कै नाम गरेर सोही समूहले अर्काे कम्पनी खुलाउने भयो । पुरानै तलब र सेवा दिएर इच्छा हुनेलाई जागिर दिनेसमेत जनायो । तर, कुनै नेपाली काम गरेर बस्न राजी भएनन् । कारण, सानो गल्ती हुँदा समेत उनीहरुले कुटपिट गर्थे । त्यो सहन नसक्ने भएकाले उनीसहित करिब ४ नेपालीले काम नगर्ने निधो गरे ।
दिन दुगुना, रात चौगुणा दुःख माथि दुःख झेल्दै गर्दा अहिले खुल्ला, भरे खुल्ला भनेर कुर्दाकुर्दै अन्ततः १८ जुन २०२० मा नेपालले आपतकालीन अवस्थाका लागि नेपालले एअरपोर्ट खुलायो । घर फर्कन पाउने झिनो आशा पलाएपनि आर्थिक अभाव बाधक बन्यो । सबैले घर फर्किने टिकटका लागि फेरि घरबाट पैसा मगाए । पराजुलीले पनि उसै गरे । दाई नाता पर्नेसँग व्याजमा पैसा सापटी मागेर एक हजार तीन सय २० दिराममा टिकट खरिद गरे । पुरानो ६ सय ६० दिराममा किनेको टिकट फिर्ता भएन । त्यो त्यत्तिकै फस्यो ।
एअरपोर्ट खुलेपछि सबै नेपाल फिरे । पराजुली २६ जुन २०२० मा नेपाल फर्किए ।
आफूहरु समस्यामा परेपछि पराजुलीसहितको समूहले नेपाल सरकारका सबै निकायमा गुहार माग्यो । ‘यो उद्धारको समय हो, नेपाल आउनुहोस् पहिला हामी सकेको सहयोग गर्छाै भनेर त्यतिबेलामा संस्कृति पर्यटन तथा उड्ययन मन्त्री योगेश भट्टराईलेसमेत भन्नुभएको थियो,’ उनी भन्छन्, ‘दुखजिलो गरेको यता आएपछि उहाँले पनि वास्ता गर्नुभएन ।’
उनले मनन गरेका छन्, ‘अफ्ट्यारो पर्दा गरिब, साना मान्छेको पक्षमा कोही हुँदारहेनछन् ।’ अहिले उनको थाप्लोमा घर बनाउने, ऋण तिर्ने, घरबार सम्हाल्ने, भाईबहिनी पढाउने जिम्मा छ । स्नातकसम्म अध्ययन गरेका उनी अहिले घरमै मेलापात गर्छन् । ४÷५ वटा बाख्रा, एउटा भैंसी, ओत लाग्न जस्ताको टहरो अनि अलिकति खेत नै उनको सम्पत्ति हो । विदेश जाने बेला लिएको ऋणको सावाँसँगै व्याज बढ्दो छ । ‘घर खर्च चलाउन मेलापातकै भर हो,’ उनले भने, ‘नुन, तेल अनि मरमसालाका लागि पैसा नहुँदा छिमेकमा रहेको पसलले उधारो पत्याएकै छन् ।’
बुझ्ने भएपछि इन्जिनियर बन्ने सपना साँचेका उनलाई २०६८ मा बुबा बितेपछि त्यो सपना त्याग्नुपर्यो । एसएलसी उत्तीर्णपछि साइन्स विषय पढ्ने उनको धोको थियो । तर, सामान्य परिवारले आर्थिक अवस्था थेग्न नसक्ने भएकै कारण उनले त्यो इच्छालाई मनमै मारिदिए । आर्थिक अभावकै कारण इन्जिनियर र साइन्स पढ्नबाट चुकेका पराजुलीले जीवनको पाइलैपिच्छे हण्डर खाएका छन् । आफूले चाहेको विषय पढ्न नपाएपछि घरको ऋण तिर्न पनि उनी चुके । भूईचालोले घर भत्काएपनि उनको नाम भूकम्पपीडितको लाभग्राहीको सूचीमा पर्न सकेन । न त घर बनाउने सपना संगालेर विदेशिएका उनको राम्रो भयो ।
तर, हिम्मत अझै हारेका छैनन् उनले । भन्छन्, ‘पाखुरी सेलाएको छैन, कुट्टो कोदालो गरेरै परिवार जेनतेन पाल्न सक्छु भन्ने आँछ छ ।’ घरमा रहेका बाख्रा, कुखुरा बेचेर भएपनि आफ्नो जिम्मेवारी वहन गर्ने उनी बताउँछन् ।
अहिले पराजुलीको परिवार जस्ताको टहरामै आश्रित छ । दाउरा चिर्ने, मलखाद उठाउने, घाँस काट्ने, हलो जोत्ने जस्ता कामबाट उनको दिनचर्या बित्छ । खाना बनाउन ग्याँसको पहुच्मा उनको परिवार अझै पुगेको छैन । माटो खोस्रेरै जीवन बचाउन बाध्य छन् पराजुली परिवार ।

 


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!