बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारयसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित)

यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित)


भीमटार । घरायशी कामसँगै नदिमा बालुवा चाल्ने अनि माछा मारेर दैनिकी गुजारा गर्ने सीमान्तकृत माझी समुदायले मंगलबार इन्द्रावती नदि किनारमा कामको थकान बिर्सदैं नाचगान गरे । एकआपसमा सद्भाव पोखे । इन्द्रावती गाउँपालिका वडा नंं ११ को इन्द्रावती बगरमा आयोजित उल्लासमय कोशी पूजामा माझी समुदायले खुलेर आफ्नो महान पर्व कोशी पूजा अथवा लदि पूजा मात्रै मनाएनन् खुशी साटासाट पनि गनै भ्याए ।
लदिपुजा अथवा कोशी पूजालाई जखनि पुजा, घाटपुजा र अन्य नामले पनि गरिन्छ । माझीजाति प्रकृतिपूजक भएकाले यो प्रकृतिको पूजा हो । माझीहरुले युगौँ पहिलेदेखि गर्दै आएको यो पूजा यो बगरमा भने पहिलोपटक आयोजना भएकै कारण हजारौंको संख्याले ऐक्यबद्धता जनाएका थिए । माझी समुदायको पेशा पानीकै सेरोफेरोमा हुने भएको र प्रकृतिको ठूलो भाग पानीको भएकाले यसलाई पानी पूजा पनि भन्ने गरिन्छ । यो पर्व माझी समुदायमा मेलमिलाप गराउने एकता कायम गराउने चाड हो । यो पूजा सम्पूर्ण प्राणीहरुको प्राणरक्षाको लागि गरिने पूजा भनेर माझी समुदायले दावी गर्ने गर्दछन् ।
यो पूजा गरिनुका विविध कारणहरु रहेको माझी समुदायका अभियन्ताहरुको भनाई छ । सबै प्राणी, जिवजन्तु र वनस्पति समेतकोे प्राण रक्षा गर्न, बर्षा, बाढी, भेलमा डुंगामा तर्नुपर्ने, डुंगा चलाउनु पर्ने भएकोले सुरक्षाको लागि यो पूजा गरिने अभियन्ता रामजी माझी बताउँछन् । ‘रातदिन खोला कोसीमा हिड्नुपर्ने भएकोले भुतप्रेतबाट जोगिनका साथै बाली राम्रो होस भन्नाको लागि पनि युगौं पहिलेदेखि यस्तो पूजा गरिदैं आएको छ,’ उनले भने, ‘माझी जातिको पहिचान स्थापित गर्नका साथै जग्गा जमिन खोलाले नबगाओस भन्ने कामना यो पूजामा गरिन्छ ।’ यो पूजा राष्ट्रिय चाडपर्वमा सूचिकृत गराउने माझी समुदायको माग समेत रहेको उनको भनाई छ ।
लदिपूजा अथवा कोशी पूजा विशेषगरी फाुगन महिनामा गरिन्छ । तर संस्कृति अनुसार वैशाख, जेठ र असारमा पनि गर्न सकिन्छ । यो पूजा मंगलवार र शनिवार मात्र गर्ने परम्परा छ । नेपाल माझी उत्थान संघले फागुन महिनाको तेश्रो मंगलवार गर्ने निर्णय गरेकोले अहिले गरिएको आयोजक कोशी पूजा संरक्षण समितिले जनाएको छ ।
पूर्व तयारीका लागि कम्तीमा एक महिना पहिले सल्लाह गरेर दिन तोक्ने गरिन्छ । यो पूजामा माझी समुदायले आ–आप्mना पाहुना निम्तो गर्ने गर्दछन् । माना चामल उठाउने, सगुन बनाई वितरण गर्ने नियमित बली दिने गरिने इन्द्रावती गाउँपालिका वडा नं. ११का अध्यक्ष मने माझी बताउँछन् । ‘यो पर्व दुई दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइन्छ,’ उनी भन्छन, ‘पहिलो दिन गाउँमा गरिने सबै प्रकारको काम बन्द गराई प्रत्येक घरबाट निम र भाकल पूजा गरि अक्षता संकलन गरिन्छ,’ उनी भन्छन्, ‘अक्षतामा धुप, भेटी, सुपारी, अबिर, टोटला, बेलपाती, अण्डा, जनैहरु संकलन हुनेछ ।’ पूजामा पूmल, अक्षता, पाती, भेटी, टोटला, ध्वजापताका, फलफूहरु चढाइने परम्परा रहेको उनले बताए । बलीमा कुख्रा, हाँस, बोका, पाठी, बाख्रा, राँगा, सुुंगुरहरु पर्छाएर बली दिइन्छ । पूजारीले बलीदिनु सुरु गर्दा पहिले सानो क्रमश ठूलोलाई बली दिइन्छ । पूजामा उपस्थित सबैलाई प्रसादसमेत दिइने गरिएको छ । उपस्थित सबैलाई भोज खानु दिइ गनी माछा खुवाउँछन् अनि देवतासँग बिदा माग्दै हल्ला गर्दै घर जाने जाने परम्परा रहेको छ ।
बली दिँदा परमेश्वरीको नाम जप्दै आङ् लिएर सिर लिइ देसान, मसान, रोग, व्याधि, भूत, पे्रत, हटाइदेने प्राथना गरिन्छ । साथै बेला बेलामा पानी पारिदिई अन्नपानीको सह गराइदिने मात्रै नभई जंगलको तस्करबाट बस्तुभाउ जोगाइदिने र शत्रुको कुरा मुनी, हाम्रो कुरा माथि पारिददिई हाम्रो जितबाजी गराइदेउ भन्ने प्रार्थना माझी समुदायले गर्ने गर्दछन् ।
पूजाको दोस्रो दिन बिहान पूजारीको घरमा सबै भेला भएर साबा बस्छन । सबैले सगुन खानुपर्ने बाध्यकारी नियम भएकाले अनिवार्य उपस्थिति हुनु पर्छ, नआए जरिवाना लाग्छ । त्यहाँ बर्षभरिका मुद्दा फैसला गरि मझेसावा गठन गर्दछन् । घर घरमा रमाइलो गर्दै नयाँ सम्धी सम्धीनीहरु ढोगभेट फुकाउँछन । पाहुना बिदा गर्ने, भाँडा लगाउने, खाजा खुवाउने र बाटोको लौरो दिई पाहुना बिदा गर्ने परम्परा रहेको छ ।
सिन्धुपाल्चोकदेखि काभ्रेसम्म फैलिएको इन्द्रावती करिडोरसम्म करिब ३० हजार माझी समुदायको बसोबास छ । विशेषगरी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा माझी समुदायको बाक्लो उपस्थिति रहेको छ । माझी समुदायको संस्कृतिको विस्तार, संरक्षण र विकासका लागि इन्द्रावती गाउँपालिकाले आवश्यक सहयोग गर्ने गरेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘सबै जातजाति समान हुने र सबैको फरक संस्कृति, रितिरिवाज हुने हुँदा त्यसको जगेर्ना गर्न स्थानीय तहले चासो लिनुपर्दछ,’ अध्यक्ष तामाङले भने, ‘गाउँपालिकाले हरेक जातजातिको संस्कृति पहिचान गरि त्यसको संरक्षणमा सहयोग गर्नेछ ।’
माझी समुदायका अनुसार नदि र माझी एक आपसमा नङ र मासुको जस्तै सम्बन्ध हुने हुँदा यो पूजा गरिन्छ । नदिमा कहिल्यै पानीको अभाव नहुन र आफ्नो पेशा संकटमा नपरोस् भन्ने हेतुले पनि यो पूजा गरिन्छ । यो पूजाको अन्तिममा समीक्षा गर्दै आगामी वर्षका लागि सुझाव संकलनसमेत गर्ने गरिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!