शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारदसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो

दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो


चौतारा ।
दसक अघिदेखि सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारलाई व्यवस्थित सहरीकरण गर्ने योजना अनुसार सुरु गरिएको रिङरोड निर्माण अझै अपूरो छ । साँघुरो चौतारा बजारलाई घेर्ने गरि निर्माण थालिएको रिङरोडले पूर्णता नपाउँदा बजार क्षेत्र अस्तव्यस्त देखिन्छ । स्थानीय तहले मात्रै नभई बजारबासीले समेत चासो नदेखाएका कारण रिङरोड सूचारु नभएपछि बजार अस्तव्यस्त हुने गरेको हो । जसकारण बजारको सौन्दर्य विलिन हुनुका साथै व्यापारमासमेत बाधा पुग्ने गरेको देखिन्छ ।

साँघुरो बजार क्षेत्र रहेको यो ठाउँलाई व्यवस्थित गर्नका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर सहरीकरण गर्ने महत्वकांक्षासहित सुरु गरिएको रिङरोडको योजना अझै अलपत्र छ । दसकअघिदेखि निर्माण सुरु गरिएको रिङरोडले पूर्णता नपाउँदा बजार क्षेत्रमा सवारी जाम हुने समस्या अहिले विकराल बनेको छ ।साँघुरो चौताराको भविश्य सुनिश्चित गर्न सडक बिस्तार आबश्यकता महशुस गरेर सुरु गरिएको योजना स्थानीयको बेवास्ताका कारणसमेत अलपत्र परेको हो ।
बजारलाई केन्द्रमा पारेर चारैतिरबाट सडक सञ्जालले घेर्ने महत्वकांक्षी योजनामा सर्वपक्षीय सहमति जुट्न नसक्दा खर्च भएको रकम बालुवामा पानी सावित भएको छ ।

बजारको साँघुरो सडकको बिकल्प र व्यवस्थित बजार निर्माण गर्ने उद्देश्यसहित तत्कालीन सांसद सुभाष कर्माचार्यको पहलमा राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्ष २०६३÷६४ रकम बिनियोजन भएपछि रिङरोड निर्माण सुरु भएको थियो । चौताराका समाजसेवी तुलसीमान श्रेष्ठको सक्रियतामा उपभोक्ता समिति निर्माण गरेर बन्न लागेको रिङरोड उनको निधनसँगै अलपत्र परेको हो । पहिलो पटक केन्द्रिय योजनाबाट बजेट परेपछि केही वर्षसम्म त्यसले निरन्तरता पाएको थियो । पछि स्थानीय तहको संरचना आएपछि पनि केही बजेट यो रिङरोडका लागि विनियोजन गरिएपनि त्यसले अझै पूर्णता पाएको छैन । रिङरोडको सिंगो ट्रयाक खुलेपनि सवारी आवागमन सूचारु नहुँदा सदरमुकाम चौतारा बजार अस्तव्यस्त हुने गरेको छ । साँघुरो बजारमा सवारी जाम हुँदासास्ती भोग्नुपरेको स्थानीय राम सापकोटा बताउँछन् ।

सुरुमा लक्ष्य अनुरुप काम सुरु भएको भएपनि स्थानीय असहमतिले एक वर्षको एक लाख ५० हजार रुपैया बजेट समेत फ्रीज भएको थियो । उक्त बजेट सम्झौता नै नभएपछि फेरि यो योजनामा बजेट विनियोजन हुन सकेन । तर, स्थानीय तह आएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले सडक स्तरोन्नतिका लागि पहिलो वर्ष ५ लाख रुपैयाँ छुट्याएको थियो । सो रकमले रिङरोडको ट्रयाक जोडिएको हो । ट्रयाक जोडिएपनि सवारी साधन नचल्दा बजार अस्तव्यस्त बनेको हो । जथाभावी पार्किङ, सवारी जामले चौतारा बजारको सुन्दरता समेत गुमेको स्थानीय सुवास गौतमको भनाई छ । उनले रिङरोड तत्काल सूचारु गरि बजारलाई एकतर्फी मात्रै प्रयोग गरेमा समस्याले समाधानउन्मुख हुने बताए ।

२०६८ सालमा भएको सिन्धुपाल्चोक महोत्सवका बेला बसपार्कबाट घले गाउँ हुँदै जिविस निस्कने सडक मर्मत गरी सुचारु गराइएको थियो । भूईंचालो पछि केही समय रिङरोडका केही भागमा मोटर नगुडेको भने हैन । तर, त्यसले पनि स्थायीत्व पाउन सकेन । रिङरोडका केही भाग कालोपत्रे भएको छ । तर अधिकांश सडक जीर्ण भएकाले समस्या उत्पन्न भएको हो । यो रिङ रोड निर्माण प्रक्रिया प्राविधिक स्टेमेट गरि तत्काल स्तरोन्नति गरि सडक सूचारु गरिने चौतारा साँगाचोकगढी नगरपालिकाका इन्जिनियर बद्रीनारायण भुजेल बताउँछन् । चौताराको भविश्य सुनिश्चित गर्न सडक बिस्तारको आवश्यकता भएकाले यसलाई रिङरोडले परिपूर्ति गर्ने उनी बताउँछन् ।
सदरमुकामका धेरैले बैकल्पिक मार्गको रुपमा रिङरोडको आबश्यकता देखेका छन् । तर, बजार बिस्थापित हुने डरले स्थानीय यसलाई अघि बढाउन चाहँदैनन् । स्थानीयहरुले बजारको सडक साँघुरो भएकाले बैकल्पिक मार्गको आबश्यकता महशुष गरेका छन् । बजारमा वान वे (एकतर्फी) बनाउनुपर्ने आवश्यक छ । अस्थीर नेतृत्व, अपारदर्शी काम र सबैलाई समेट्न नसक्नु नै रिङरोडको परिकल्पना सार्थक हुन नसकेको हो ।

चौतारामा विकट बस्तीका मान्छे आएर घर बनाएर बस्ने लहर चलेपनि सडक बिस्तार नहुँदा समस्या भएको छ । अव्यवस्थित बजारलाई व्यवस्थित बनाउन र बिस्तार गर्न सडक आधारभूत आबश्यकता देखिन्छ । साँघुरो सडकका कारण स्थानीयले व्यहोर्नुपरेको सास्ती र त्यसको समाधानका लागि यो रिङरोड सूचारु गनुपर्ने चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीको भनाई छ ।
राजनीतिक र व्यक्तिगत स्वार्थका कारण नै चौताराको रिङरोड लाखौं खर्चेर पनि सम्पन्न हुन नसकेको हो ।। सबैले स्वीकार्न सक्ने निर्विकल्प नेतृत्वको अभावले चौतारा अस्तव्यस्त बनेको बताउनेहरुको पनि कमी छैन । उनीहरु नेतृत्व नभएकैले चौतारा सदरमुकाम भएर पनि विकास निर्माणबाट पछि परेको बताउँछन् । बजार व्यवस्थापनका लागि सबै राजनीतिक दल सहमत हुनपर्ने र स्थानीय तहले पनि चासोका रुपमा हेर्नुपर्नेमा जोड दिन्छन् ।
अबको निकै आवश्यकता देखिएको यो रिङ रोडको निर्माण तथा मर्मत समयमै भए चौतारा बजारलाई समृद्ध र व्यवस्थित बनाउन निकै सहज हुने छ । यसतर्फ सम्बन्धित निकाय, व्यक्तिहरुको चासो पनि उत्तिकै हुनुपर्ने देखिन्छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!