Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठप्रवासअसहाय पढाउनका लागि गरिएको दिपावली साँझ सम्पन्न

असहाय पढाउनका लागि गरिएको दिपावली साँझ सम्पन्न


अमेरिका, १५ कात्तिक ।
जिल्लामा रहेका अनाथ, असहाय तथा गरिब जेहेन्दार विद्यार्थीलर्ई उच्च शिक्षा दिलाउनका लागि दिपावली साँझ भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकामा रहेको सिन्धु सोसाइटी अमेरिकाले शुभ दिपावली २०१९ को अवसरमा बालबालिका पढाउनका लागि गरेको साँस्कृतिक कार्यक्रमसहितको दिपावली साँझमा करिब नौ लाख रुपैयाँ संकलन हुँदै सम्पन्न भएको हो ।
अक्टोबर २६ मा अमेरिकामा भएको कार्यक्रममा सयूक्त राज्य अमेरिकाका लागि नेपालका प्रतिनिधि महाबाणिज्य दुत पुष्पराज भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बरिष्ठ लोक गायक मिलन लामा, अभय ढुगेंलले साँस्कृतिक प्रस्तुति दिएका थिए । डिजे सूर्य खड्काको बेजोड प्रस्तुति र नृत्यले कार्यक्रम भव्य बनेको थियो । बसन्त डान्स सेन्टरका विजय नकर्मीले नृत्यको कोरियोग्राफर गरेका थिए । मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा पाँच सय बढी उपस्थित भएको आयोजक सिन्धु कल्याण समाज अमेरिकाका महासचिव पेमाडेन्डी शेर्पाले जानकारी दिए ।


कार्यक्रमबाट संकलित रकम माउण्ट कैलास स्कुल कपनमा अध्ययनरत ८ जना, प्लस टु अध्ययनरत ३ जना र लामोसाँघु ड्यामसाइटस्थित बनसाँघु माविमा अध्ययनरत ३ जना बालबालिकाको अध्ययनका लागि खर्च गरिने शेर्पाले बताए ।
सो कार्यक्रममा संस्थाप्रति निस्वार्थ भावना सहित इमान्दारी र बफादार भई कार्य सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । समाजका अनुसार पूर्व सदस्यहरु, कार्यक्रमका प्रायोजक व्यक्ति, संघसंस्था, खेलाडी, बैंक रकम संकलन सहयोगी व्यक्ति, कलेजमा स्नातक अध्ययनरत विद्यार्थी, संस्थाका पूर्णकालीन सदस्यहरुलाई सम्मान गरिएको हो । सो कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का सद्भावदुत छिरिङ डोल्मा शेर्पालाई सम्मान गरिएको थियो । सोसाइटीका अनुसार कार्यक्रममा फुटवल तथा भलिवल खेलाडीसमेत सम्मानित भए ।


हाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको अगुवाईमा अमेरिकामा स्थापित यो संस्थाले सिन्धुपाल्चोकको शैक्षिक विकासका लागि यसअघि निकै महत्वपूर्ण कार्यहरु गरेको छ । बाढी पीडितलाई रकम सहयोग, रक्तदान, सरसफाई, जनचेतना, कानुनी परामर्श, भूकम्पपीडितलगायत काम सोसाइटीले गर्दै आएको छ । कार्यक्रममा सोसाइटीका अध्यक्ष छिरिङ तेञ्जिङ लामाले सहयोगी एव सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : प्रवास
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार