शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठप्रवाससुडानमा सत्तापलटः यमनमा रक्तपात

सुडानमा सत्तापलटः यमनमा रक्तपात


१० कात्तिक, एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सत्तापलट भएको छ । सोमबार भएको ‘कु’ पछि प्रधानमन्त्री अब्दल्लाह हामदोकले नेतृत्व गरेको अन्तरिम सरकार विघटन गरिएको छ ।

सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ ।
सैनिक ‘कु’ लगत्तै सडकमा पुनः विरोध प्रदर्शन सुरु हुन थालेको छ । रोइटर्सका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच मंगलबार भएको झडपमा परी ७ सात जनाले ज्यान गुमाएका र १४० जना घाइते भएका छन् ।

यही सेप्टेम्बर २१ मा भएको असफल ‘कु’ प्रयासपछि सुडानमा तनाव सुरु भएको थियो । सारा मुलुक नागरिक शासन र सैन्य शासनको पक्षविपक्षमा विभाजित भएको बेला सेनाले सोमबार सत्तापलट गरेको छ । मुलुकमा हुन सक्ने संभावित गृहयुद्धलाई मध्यनजर राख्दै सरकार विघटन र संकटकाल घोषणा गरेको सेनाको भनाइ छ ।

सत्तापलटको नेतृत्व गरेका जनरल अब्देल फताह अल बुर्हानले मंगलबार पत्रकार सम्मेलनमा प्रदर्शनकारीप्रति संकेत गर्दै ‘गत हप्ता हामीले देखेको खतराले मुलुक गृहयुद्धमा फँस्न सक्थ्यो’ भनेका छन् ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा सुडानको निकै ठूलो महत्व छ । उत्तर–पूर्वी अफ्रिका अवस्थित सो मुलुकमा हुने घटनाले हर्न अफ अफ्रिका, उत्तर अफ्रिका र सहेल क्षेत्रको स्थिरतालाई असर गर्छ । लाग सागरसँग जोडिएको र विश्वका झण्डै ३० प्रतिशत व्यापारिक पानीजहाज सोही सागर हुँदै ओहोरदोहोर गर्ने भएका कारण सुडानले आर्थिक महत्व समेत बोकेको छ ।

त्यस्तै, चार सय माइलभन्दा लामो समुन्द्रतटमा फैलिएको सुडानले अमेरिका, रुस र चीन लगायतका विश्व शक्तिराष्ट्रका लागि छुट्टै रणनीतिक एवं भूराजनीतिक महत्व राख्छ ।

बसिरको बहिर्गमन लगत्तै अन्तरिम परिषद गठन भएपछि अमेरिकासहितका प्रमुख पश्चिमी राष्ट्रले सुडानसँग पुनः सहकार्य गर्ने बताएका थिए । तर ‘कू’पछि पश्चिमी प्रभाव कमजोर बन्ने निश्चित् छ । त्यसैले सैन्य कूको पश्चिमा मुलुकको बर्चश्वयुक्त अन्तर्राष्ट्रिय समुदायले बिरोध गरेको छ । अमेरिकाले सुडानलाई यसअघि उपलब्ध गराउने भनेको ७० करोड डलर रोक्का गरेको छ ।

उता, यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक सहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोेहीको ज्यान गएको बताइएको छ ।

साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र ुहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ बिद्रोही मारिएका छन् ।

इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनीतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।


क्याटेगोरी : प्रवास


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!