शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठप्रवास२० सदस्यीय जम्वो टोली लिएर प्रधानमन्त्री देउवा बेलायत जाने

२० सदस्यीय जम्वो टोली लिएर प्रधानमन्त्री देउवा बेलायत जाने


एजेन्सी । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुन बेलायत जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली दूतावास लन्डनले देउवा ५ दिने बेलायत भ्रमणमा आउने निश्चित् भएको पुष्टि गरेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने छन् ।

लन्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लन्डन उत्रिने तालिका छ ।

देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने तालिका प्रस्ताव गरिएको छ । तर भेटघाटको समय निश्चित् भईसकेको छैन ।

प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीलाई दुतावासले आग्रह गरिरहेको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको र वेलायती समकक्षी संगको भेटवार्ताका निम्ति पनि प्रयत्न गरिने खनालले बताइन् । नयां सरकार गठन भएपछि वर्तमान सरकारले वेलातका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाई सकेको छ ।

बेलायत भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेे तयारी गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले लण्डनमा नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रिया गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लन्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने तालिका छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ ।

देउवाले समिटमा विश्वमा तीव्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम छ ।


क्याटेगोरी : प्रवास


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!