Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाएकैदिन सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पतालको शिलान्यास

एकैदिन सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पतालको शिलान्यास


चौतारा । सिन्धुपाल्चोकमा सोमबार चार वटा स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ । सरकारले सातै प्रदेशमा आज एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्ने योजना अनुसार सिन्धुपाल्चोकमा पाँचवटा मध्ये चार वटामा आधारभूत अस्पताल सिलान्यास गरिएको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ । बलेफी गाउँपालिकाको जलवीरमा, मेलम्ची नगरपालिकाको मेलम्चीमा, लिंसखुपाखर गाउँपालिकाको डाँडापाखरमा र जुगल गाउँपालिकाको बराम्चीमा अस्पताल शिलान्यास गरिएको हो । लिसंखुपाखरमा राष्टिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले र अन्य स्थानीय तहमा भने सम्बन्धित मेयर तथा अध्यक्षले अस्पतालको शिलान्यास गरेका थिए ।
हेलम्बुमा भने आज गरिनुपर्ने शिलान्यास गरिएको छैन । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले शिलान्यास गरिने स्थानको माटो परीक्षणसहित प्राविधिक जाँचको काम बाँकी रहेकाले पछि मात्रै शिलान्यास गरिने बताए । ‘यदि शिलान्यास गरियो भने यो ठाउँलाई पछि असुरक्षित भनेर प्रतिवेदन आएमा निकै अफ्ट्यारो पर्छ,’ अध्यक्ष शेर्पाले भने । उनका अनुसार प्राविधिक रुपले उपयुक्त ठहरिएको स्थानमा अस्पतालको शिलान्यास गरिनेछ । त्यस्तै जिल्लाका तीन वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भई सञ्चालनमा छन् ।
जिल्लामा रहेका बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, नवरलपुर अस्पताल, चौतारा अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गर्ने योजना छ । त्यस्तै पाँचपोखरीमा भने अस्पताल निर्माणधिन छन् । पाँचपोखरीमा अस्पताल भवन नै बन्दै छ वरिष्ठ अधिकृत चापागाईले भने, त्यहाँ डाक्टर बाहेक अन्य जनशक्तिको समेत व्यवस्थापन भैसकेको छ ।
इन्द्रावतीमा नवलपुर अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गरिने भएको छ । इन्द्रावतीमा नयाँ भवन निर्माणको काम समेत धमाधम भैरहेको छ । जिल्लाका तीन स्थानीय तहमा भने कुनै अस्पतालको शिलान्यासको काम भएका छैनन् । वरिष्ठ अधिकृत चापागाईले भने ती स्थानीय तहमा यस्ता कार्यक्रम आएको जानकारीमा छैन ।
जिल्लाका सुनकोसी, भोटेकासी र त्रिपुरा सुन्दरी गाउँपालिकामा कुनै अस्पताल शिलान्यासको कार्यक्रम छैन् । त्यहाँ अस्पतालहरु पनि नभएको र कार्यक्रम पनि नभएको जानकारीमा आएको छ उनले भने ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!