बुधबार, असोज ६, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाविद्यालय ‘अपग्रेड गर्न’ जुर्मुराउँदै समुदाय

विद्यालय ‘अपग्रेड गर्न’ जुर्मुराउँदै समुदाय


ज्यामिरे ।

मेलम्ची नगरपालिका–९, ज्यामिरेकी अभिभावक ज्ञानु कार्कीले जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खड्कालाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिन्।  कक्षा १० सम्म सञ्चालित विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि आर्थिक स्रोतको अभाव भएकाले उनले उक्त रकम विद्यालयमा हस्तान्तरण गरेकी हुन्।

०५६ सालमा १० कक्षा सञ्चालन भएको सामुदायिक विद्यालयमा २०  वर्ष बित्दा पनि कक्षा ११ सञ्चालनमा सरकारी निकायको ध्यान पुगेको छैन। यसले ज्ञानुजस्तै अभिभावक आफ्नै पहलमा कक्षा अपग्रेड गर्न उत्साहित भएर  लागिपरेका हुन्। गाउँका बालबालिका बिहान चार बजे हिँडेर कक्षा ११ पढ्न मेलम्ची बजार पुग्नुपर्ने बाध्यता अन्त्य गर्न आफूहरूले विद्यालयलाई आर्थिक सहयोग गरेको ज्ञानुको भनाइ छ। ज्ञानु मात्र होइन, अहिले ज्यामिरेका अधिकांश अभिभावक विद्यालय अपग्रेडका लागि गाँस काटेर सहयोग गर्न उत्साहित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए।

विद्यार्थी र अभिभावकको चाहनाअनुसार विद्यालयमा कक्षा ११ सञ्चालनका लागि  नगरपालिकासँग अनुमति माग गर्दा अनुमति दिन ८ लाख रुपैयाँ धरौटी राख्नुपर्ने  सर्त नगर शिक्षा समितिले अगाडि सारेपछि स्थानीयले विद्यालय सहयोग समिति गठन गरेर चन्दा संकलन अभियान थालेको हो। अभिभावकका अलावा पूर्व विद्यार्थी, सेवा क्षेत्रभित्रका नागरिक अगुवा, समाजसेवी, व्यवसायीलगायतको अग्रसरतामा अभियान  सुरु गरेयता करिब ११ लाख रुपैयाँ संकलन भइसकेको प्रधानाध्यापक केदार विष्टले जानकारी दिए।

‘झण्डै १५ लाख रुपैयाँ सहयोग गर्छु भनेर प्रतिबद्धता आएको छ’, विष्टले भने, ‘अनुमति पाएसँगै केही वर्ष विद्यालय सञ्चालनमा सहयोग होस् भनेर जतिसक्दो धेरै सहयोग रकम जुटाउने अभियानमा लागेका छौं।’ कक्षा अपग्रेड र शैक्षिक सुधारका लागि सहयोग गर्न पूर्वविद्यार्थी प्रतिस्पर्धामा लागेको पूर्व विद्यार्थीसमेत रहेका पत्रकार टंक खड्काले जानकारी दिए।

‘प्रत्येक एसएलसी ब्याचको टोली बनाएर सहयोग संकलनमा लागेका छौं’, खड्काले भने, ‘हामी बढीभन्दा बढी रकम संकलन गरेर विद्यालयलाई परनिर्भर हुने अवस्था नआओस् भनेर लागिरहेका छौं।’

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!