किर्तीपूरबाट आएका शिक्षकमा कोरोना देखिएपछि इन्द्रावती ७ पाँच दिनका लागि सिल

चौतारा । इन्द्रावती गाउँपालिका ७ सिपापोखरेका एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि ७ नम्बर वडा सिल गरिएको छ । सुर्खेत घर भई राजेश्वरीमा पढाउने ३१ वर्षीय शिक्षकमा कोरोना देखिएपछि वडा सिल गरिएको हो ।
इन्द्रावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठका अनुसार सुर्खेत घर भएका ती शिक्षक किर्तिपूरमा बसोबास गर्थे । सरकारले भदौ १ गतेदेखि विद्यालय खोल्ने बताए अनुरुप उनी १९ गते सिपापोखरे आएका थिए ।
सिपापोखरे आएर होम क्वारेन्टिनमा बसेका उनीसहित १९ जना शिक्षक, २ प्राविधिक र १ स्यंवसेवको २३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । २५ गते साँझ आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए ।
अहिले उनको मेलम्ची नगरपालिकामा रहेको आइसोलसन वार्डमा उपचार भैरहेको छ । उनलाई हिजो नै एम्बुलेन्समार्फत त्यता पठाइएको बताइएको छ । शिक्षकलाई कोरोना पुष्टि भएपछि हिजैबाट वडा नम्बर ७ सिल गरिएको छ ।
वडाध्यक्ष वीरबहादुर तामाङद्धारा सोमबार जारी विज्ञप्तिमा श्री राजेश्वरी उच्च माविमा पढाउने शिक्षकमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उक्त वडा सिल गरिएको जनाइएको छ ।
राजेशवरी आसपास देखि मैदान टोलसम्म पसल, कलकारखना, वडा कार्यलय, राजेशवरी उमाविलगायतका क्षेत्र ५ दिनका लागि शिल गरिएको छ । यसैबीच यो सँगैं इन्द्रावतीमा कोरोना संक्रमण हुनेको संख्या ११ पुगेको छ ।
स्वास्थ्य प्रमुख श्रेष्ठका अनुसार ९ जना इन्द्रावतीकै स्थानीय छन् भन् एकजना पाँचपोखरी थाङपालधापका र एक जना सुर्खेतका रहेका छन् । हाल १० जना निको भएर घर फर्किएका छन् भने एकजनाको उपचार भैरहेको छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस