जुगलमा २१ जनाको स्वाब संकलन गरियो, टाढा बाट आएका शिक्षकहरुबाट संक्रमणको जोखिम उच्च

जुगल । जुगल गाउँपालिका ५ को सेतीदेवी मावि र रत्न राज्य माविमा पढाउने दुई शिक्षकमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरी २१ जनाको स्वाब संकलन गरिएको छ । हिजो जिल्ला अस्पतालका स्वास्थ्यकर्मीबाट रत्न राज्य माविका शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी २१ जनाको स्वाब संकलन गरिएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए ।
आज सेती देवी माविमा अध्यापन गराउने शिक्षकको सम्पर्कमा आएका १२ जनाको स्वाब संकलन गरिने उनले जानकारी दिए । गत १७ गते सल्यानबाट सिन्धुपाल्चोक आएका दुई शिक्षकमा कोरोना संक्रमण देखिएको थियो ।
उनीहरुको यात्रा विवरण लामो भएको र जुगलमा आएपछि पनि धेरै जनासँग सम्पर्क गरेकाले जुगलको वडा नम्बर ५ नै सिल गरी कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको हो । पछिल्लो समय विद्यालय खोल्ने सरकारको निर्णयसँगैं टाढा बाट आएका शिक्षकहरुबाट जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च छ । त्यसैगरी विभिन्न विकास निर्माणका काममा आउने मजदुरबाट पनि संक्रमण सर्न सक्ने सम्भावना छ ।
तसर्थ लामो दुरीबाट जिल्ला प्रवेश गर्न लागेका प्रत्येक व्यक्तिको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन स्थानीय जनप्रतिनिधि र प्रशासनले चासो दिन जरुरी छ । अन्यथा सिन्धुपाल्चोकमा जोखिम भयावह हुने निश्चित छ । हालसम्म ७१ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस