पूर्वमन्त्री बस्नेतको पहलमा सिन्धुपाल्चोकमै कोरोना परीक्षण मेसिन

चौतारा । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेततले सिन्धुपाल्चोकवासीका लािग कोरोना परीक्षण गर्न पीसीआर परीक्षण मेसिन उपलब्ध गराउने भएका छन् । पूर्वमन्त्री बस्नेतले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरि पीसीआर परीक्षण मेसिनको व्यवस्था गर्ने बताएका हुन् ।
आज एक प्रेस विज्ञप्ति निकाल्दैं पूर्व मन्त्री बस्नेतले ‘बेसार पानी खानु, हाछ्यु गर्नु, कोरोना फाल्नु, घरमा बस्नु’ भन्ने जस्ता सरकारी रवैयाबाट कोरोना महामारी व्यवस्थापन र समाधान नहुने हुँदा जनस्तरबाटै सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिएकाले कोरोना परीक्षणको अत्याधुनिक उपकरण यधाशिघ्र व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोरोना परीक्षण गर्ने सम्पूर्ण उपकरण, उपकरण राख्ने कोठा निर्माण र व्यवसायिक कर्मचारीसमेतको व्यवस्थापन गर्न सवा करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
आउँदो दुई हप्ताभित्र स्वास्थ्य केन्द्र बाह्रबिसेमा सम्पुर्ण व्यवस्था गरेर पीसीआर परीक्षण थाल्ने आफ्नो योजना रहेको बस्नेतले जानकारी दिएका छन् । ‘त्यसका लागि आर्थिक व्यवस्थापन गर्न केही व्यक्ति र संघसंस्थासँग कुरा भएको छ, उनले भने, यदि सहयोग जुट्न नसके व्यक्तिगत जग्गा जमिन बेचबिखन गरेर भएपनि पीसीआर परीक्षण उपकरणको व्यवस्थापन गरेरै छाड्छु ।’
पीसीआर परीक्षण उपकरणसँगै सिन्धुपाल्चोकका जनतालाई राहत मिल्ने भएको छ । पीसीआर परीक्षण जिल्लामै हुने भएपछि अब हप्तौं लगाएर रिपोर्ट कुर्नु पर्ने समस्याको अन्त्य हुने देखिन्छ । महामारीको समयसम्म पीसीआर परीक्षण निशुल्क गर्ने व्यवस्था मिलाउने पनि पूर्वमन्त्री बस्नेतले बताए ।
यसअघि जिल्लामा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्यकर्मीहरुको कोरोना बिमा, कोरोनाबाट मृत्यु भएकी नेपालको पहिलो व्यक्तिका सन्तानको लालनपालनका लागि एक लाख आर्थिक सहयोग र शिक्षाको जिम्मा पनि उलने लिएका थिए ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस