शनिबार, असोज ६, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुवेतबाट आएका १२ महिलासहित सिन्धुपाल्चोकमा एकैदिन २१ जनामा कोरोना संक्रमण

कुवेतबाट आएका १२ महिलासहित सिन्धुपाल्चोकमा एकैदिन २१ जनामा कोरोना संक्रमण


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । वैदेशिक रोजगारबाट फर्किनेहरुको संख्या वृद्धि सँगै जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको हो । आज एकैदिन २१ जनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुपाल्चोकका १२ महिला र नौ पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या २७ पुग्यो ।

संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका ११, हेलम्बु गाँउपालिकाका ३ र मेलम्ची नगरपालिकाका ३ जना छन् । काठमाडौंमा रहेका तीनजनाको भने ठेगाना खुल्न सकेको छैन् । उनीहरु १८ देखि ४१ वर्ष उमेरका छन् । मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका १८ जना र काठमाडौंमा रहेका तीन जना गरि २१ जनामा संक्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्यले दिएको जानकारी अनुसार आज मेलम्ची नगरपालिकाको क्षेत्रीय कवारेन्टाइन रिभर साइडमा रहेका पाँच जना र बाहुनेपाटीको जाल्पा माविको क्वारेन्टाइनमा रहेका १३ जनामा कोराना संक्रमण देखिएको हो । त्यसैगरी कुवेतबाट फर्केर काठमाडौंको क्वारेन्टाइनमा रहेका थप तीनजनामा पनि कोरोना पुष्टि भएको छ ।

कुवेतबाट जेठ २९ गते काठमाडौं हुँदैं जिल्ला आएर मेलम्ची नगरपालिकाको बाहुनेपाटीमा रहेको क्वारेन्टाइनमा बसेका १० मध्ये नौ महिलामा कोरोना संक्रमण भएको छ । उनीहरुसँगै त्यो दिन सिन्धुपाल्चोकका २४ जना कुवेतबाट काठमाडौं आएका थिए । ती मध्ये २३ जना जिल्ला आएका थिए भने एकजनाको विवाह दोलखामा भएको र उनको परिवार काठमाडौं नै रहेकाले उनी काठमाडौंको खरिपाटीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसेकी डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। २३ जनालाई स्थानीय गाउँपालिकाहरुले आ-आफ्ना गाडी अथवा एम्बुलेन्स पठाएर काठमाडौंबाट जिल्ला ल्याएका थिए ।

त्यसैगरि आजै संक्रमित भएका पाँच पुरुष दोलखाबाट आएका हुन् । उनीहरु मेलम्चीको रिभर साइडको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुमध्येकै दुई जनामा कोरोना संक्रमण यसअघि नै देखिएको थियो । उनीहरु १० जना दोलखाको खानेखोला हाइड्रोपावरमा काम गर्न गएका थिए । लामो बन्दाबन्दीपछि गत जेठ ११ गते उनीहरु मेलम्चीस्थित क्वारेन्टाइनमा आएका थिए ।

उनीहरु सबै पाँचपोखरी गाउँपालिकाका ६ नम्बर वडाका रहेका छन् । यसअघि उनीहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै जेठ २८ गते मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले उनीहरुलाई बिदाई गरेकी थिइन् । बिदाई भएर वडाध्यक्षसहित तिपेनी पुगेका उनीहरुमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको भन्दै उनीहरुलाई फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमध्ये नै पाँचजनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी भोजपुरबाट गत जेठ २८ गते आएका १० मध्ये चार जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै जना बाहुनेपाटीस्थित क्वारेन्टाइनमा छन् । उनीहरु सबै पाँचपोखरी गाउँपालिका वडा नम्बर २ का छन् । सडकको जाली भर्ने कामका लागि उनीहरु भोजपुर गएका थिए । उनीहरु सबैलाई मेलम्ची नगरपालिकाको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

बाँकी तीन जना भने सिन्धुपाल्चोकका कुन ठाउँका हुन थाहा हुन सकेको छैन् । जेठ ३० गते कुवेतबाट आएका १५ महिलालाई स्टाफ कलेज जावलाखेलमा राखिएको थियो । उनीहरुमध्ये नै तीनजनामा संक्रमण भएको हुनसक्ने बताइएको छ ।

यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई, चौतारा नगरपालिका र बाह्रबिसे नगरपालिकामा एक-एक जनामा कोरोना संक्रमण देखिएको थियो , जसमध्ये एकजनमाको मृत्यु भएको छ भने एकजना निको भएर घर फर्केका छन् ।

यसैबीच जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले कोरोना संक्रमण देखिएका उनीहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिने जनाएको छ । मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण बढेसँगैं थप उपचार गर्नका लागि भन्दै रिभर साइडलाई पनि आइसोलेसन कक्ष बनाइने भएको छ । आज बसेको केन्द्रको बैठकले रिभर साइडलाई आइसोलेसनमा विकास गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!