सिन्धुका होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे सोमबार थप छलफल हुने

चौतारा । विदेशबाट आएका व्यक्तिहरुलाई होटल तथा रिसोर्टमा क्वारेन्टाइन बनाएर राख्ने विषयमा सरोकारवाला निकायबीच थप छलफल हुने भएको छ । जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको आज बसेको बैठकले होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्नेबारे सोमबार थप छलफल गर्ने निर्णय गरेको हो ।
जिल्लाका १० वटा होटल तथा रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने यसअघि नै व्यवसायी र जिल्लाका अधिकारीबीच सहमति भएको थियो । तर स्थानीयवासीले त्यसको विरोध गरेपछि व्यवसायीहरु के गर्ने र नगर्ने भन्नेबारे अन्यौलमा परेका थिए । बजार छेउमा रहेका होटल तथा रिसोर्ट क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै स्थानीयहरुले विरोध जनाएका थिए ।
उनीहरुले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका छन् । भारत तथा विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने बाध्यकारी नियमपछि विपद व्यवस्थापन केन्द्रले होटल तथा रिसोर्ट क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । विदेशका विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने सरकारको निर्णयसँगैं जिल्लाका स्थानीयहरु पनि आउन सक्ने भन्दै केन्द्रले क्वारेन्टाइनको व्यवस्थापनका लागि तयारी थालेको हो ।
हाल जिल्लामा ६ सय ७ बेडको क्वारेन्टाइन छ । ती क्वारेन्टाइनले मात्रै नपुग्ने भन्दै जिल्लाले थप क्वारेन्टाइन व्यवस्थापनलाई तीव्रता दिइरहेको छ । हाल जिल्लाका क्वारेन्टाइनहरुमा १ सय २६ जना रहेका छन् भने १० जना आइसोलेसनमा छन् ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस