बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाजिका भाइरसको जोखिममा नेपाल

जिका भाइरसको जोखिममा नेपाल


काठमाडौँ – नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेश राज्यको कानपुरमा लामखुट्टेले सार्ने जिका भाइरस संक्रमितको संख्या १५ दिनमा ८९ जना पुगिसकेको छ । आइतबार परीक्षण रिपोर्टको नतिजा आएसँगै १० नयाँ संक्रमित थपिदै संख्या ८९ पुगेको हो ।

जिका भाइरसले आक्रमक रुपमा फैलिए पनि हालसम्म कुनै पनि संक्रमितहरू गम्भीर छैनन् तर गर्भवती महिलाहरूलाई विशेष निगरानीमा राखिएको छ ।

भाइरस सार्न सक्ने लामखुट्टे जतासुकै भएकाले नेपाल जोखिममा रहेको विज्ञहरू बताएका छन् । स्वास्थ्य विज्ञहरू जिका संक्रमण नेपाल जहिल्यै पनि जिकालगायत अरु संक्रामक रोग भित्रन सक्ने उच्च सम्भावना रहेको बताउँछन् ।

जिका भाइरस संक्रमित व्यक्तिलाई एडिस (दिउँसो टोक्ने) लामखुट्टेले टोकेर अरूलाई टोके जिका भाइरस सर्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार संक्रमित हुनेमा हल्का ज्वरो, टाउको दुख्ने, मासंपेशी र जोर्नीमा डाबर आउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिन्छन् । यी लक्षणहरू २ देखि ७ हप्तासम्म रहन्छन् । कसैलाई लक्षण नदेखिन पनि सक्छ ।

यो भाइरसको उच्च जोखिममा भने गर्भवती महिला रहेको पाइएको छ । यो भाइरस संक्रमित गर्भवती महिलाबाट जन्मिने शिशुमा, रगत आदानप्रदान र यौनसम्पर्क तथा अंग प्रत्यारोपणबाट पनि सर्ने गरेको पाइएको छ । संक्रमित गर्भवती महिलाबाट जन्मने सन्तानमा असामान्य रुपले टाउको सानो हुने ‘माइक्रोसेफली’ हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस १९४७ मा सबैभन्दा पहिले युगाण्डामा बाँदरमा पहिचान गरिएको थियो । पछि १९५२ मा तान्जानिया र युगाण्डामा मानिसमा भेटिएको थियो । एसिया तथा प्रशान्त क्षेत्र, अफ्रिका, अमेरिकामा जिकाले महामारीको रुप लिइसकेको छ । सन् २०१५ मा ब्राजिलमा जिका भाइरस महामारीको रुपमा फैलिएको थियो ।

जिका भाइरस महामारीको रुपमा फैलिए पनि हालसम्म कुनै पनि उपचार तथा खोप पत्ता लागिहालेको अवस्था छैन त्यसैले संक्रमण फैलाउने लामखुट्टेको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!