बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोरोना महामारी सन् २०२२ सम्म कायम रहनेः डब्लू.एच.ओ

कोरोना महामारी सन् २०२२ सम्म कायम रहनेः डब्लू.एच.ओ


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड महामारी अर्को वर्ष पनि फैलिन सक्ने भन्दै सतर्कता अप्नाउन आह्वान गरेको छ ।

गरिब देशका नागरिकले अझै पनि पूर्ण खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले प्रक्षेपण गरेको हो ।

संगठनका वरिष्ठ स्वास्थ्यविज्ञ डा. ब्रुस आयलवार्डले, विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्वीकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाइ छ ।

संगठनको आंकडा अनुसार, रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैनन् । अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ ।

बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको संगठनले विवरण निकालेको छ । त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन् । जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् ।

विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् । खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ ।

त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंले खोप लगाउन मानिरहेका छैनन् । ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्यरुपमा टिप्पणी गर्दै आएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!