आईतबार, असोज ३१, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाउपत्यकामा खोपको पूर्ण मात्रा ४० प्रतिशतः सुदूरपश्चिममा १९.०१ प्रतिशत

उपत्यकामा खोपको पूर्ण मात्रा ४० प्रतिशतः सुदूरपश्चिममा १९.०१ प्रतिशत

खोपको पहुंच सबैभन्दा बढी कैलालीमा


असोज १ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यस्तै भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका छन् ।

भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् । ललितपुर दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन् ।

सुदूरपश्चिममा १९.०१ प्रतिशत

कोरोना महामारीको तेस्रो लहर फैलिन सक्ने त्रास कै बीचमा सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यो प्रतिशतका हिसावले उत्साहजनक आंकडा हो ।

गत माघ यता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । झण्डै २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नौ वटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै मात्रा) लगाउने काम सकिएको छ ।

निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले पहिलो मात्रा लगाउनका लागि केन्द्रबाट खोप आएपछि सुरु हुने भएकाले अहिले तत्काल खोप अभियान चलायमान नरहेको जानकारी दिएका छन् । तथ्यांक अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा एक लाख ७५ हजार ४२८ ले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसैगरी कञ्चनपुरमा ९३ हजार ५४९, अछाममा ४२ हजार ५३४ ले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी बैतडीमा ४१ हजार ६८८, डोटीमा ३६ हजार ४९४, दार्चुलामा २६ हजार ४७४, बझाङमा २५ हजार ७९१ ले खोप लगाएका छन् भने डडेल्धुरामा २१ हजार ४३६ र बाजुरामा १२ हजार १८ लाई कोरोनाविरुद्धको खोप लगाइएको कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । यहाँ कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनलगायतका खोप लगाइएका थिए । पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दा यहाँ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत गरी ३८ हजार ३०२ ले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा २४५ ले ज्यान गुमाएका छन् । कोरोनाबाट थलिएको सुदूरपश्चिममा अवस्थामा सामान्य बन्दै गएसँगै स्थानीय प्रशासनले गरेको लकडाउन खुकुलो बनाउनका साथै जनजीवन सामान्य बन्दै गएको छ । सङ्घीय, प्रदेश र स्थानीय पालिकाले यहाँ स्वास्थ्य पूर्वाधार निर्माण र स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण थप्न पहल गरिरहेका छन् ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!