Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुमा ८८ बेडको आइसोलेसन, ९० सिलिण्डर अक्सिजन मौज्दात, आइसीयु र भेन्टिलेटर छैन

सिन्धुमा ८८ बेडको आइसोलेसन, ९० सिलिण्डर अक्सिजन मौज्दात, आइसीयु र भेन्टिलेटर छैन


चौतारा । कोरोनाको दोस्रो लहरमा संक्रमित दिनानुदिन बढ्दा त्यसको व्यवस्थापनका लागि तयारी तीव्र पारिएको छ । पछिल्लो समय आइसोलेसन बेड सञ्चालन, कन्ट्याक्ट ट्रेसिुङ र शंका लागेकाको स्वाब संकलनमा जिल्ला स्वास्थ्य कार्यालयले तीव्रता दिएको छ । अहिलेसम्म जिल्लामा ८८ वटा आइसोलेसन बेड अक्सिजनसहित तयारी अवस्थामा राखिएको छ ।

जिल्ला समन्वय समितिमा ९ बेड, फिल्ड ट्रेनिङमा १२ बेड, जुगल गाउँपालिकाको रत्न राज्य लक्ष्मी माविमा २० बेड, सिन्धु सदावहार अस्पतालमा २५ बेड, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेड र मेलम्चीमा १० बेड आइसोलेन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले चार बेडमा मात्रै संक्रमित रहेका छन् ।

केही स्थानीय तहले आफूखुशी आइसोलेसन सञ्चालनमा ल्याएका छन् । हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका र भोटेकोशी गाउँपालिकाले बनाएका आइसोलेसन स्वास्थ्य मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्न बाँकी रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत चापागाईले बताए ।

आइसोलसन बेडहरु सञ्चालन भएका स्थानहरुमा चिकित्सकसहितको सुविधा हुनुपर्दछ । हालसम्म सञ्चालित ८८ बेडमा चिकित्सकसहितको व्यवस्था गरिएको चापागाइले दावी गर्नुभयो ।

रत्न राज्यमा बलेफि गाउँपालिका र जुगल गाउँपालिकाको संयुक्त पहलमा आइसोलेसन सञ्चालन गरिएको छ । सामान्य क्वारेन्टिनका रुपमा थप ५० बेड निर्माणको चरणमा छ । त्यहाँ लक्षण नभएका संक्रमिलाई राख्ने स्वास्थ्य कार्यालयको योजना छ ।

त्यस्तै खाडिचौरको सिन्धु सदावहारमा लिसंखुपाखर गाउँपालिका र सुनकोसी गाउँपालिकाले संयुक्त रुपमा आइसोलेसन सञ्चालन गरेका छन् । सिन्धु सदावहार अस्पताललाई आइसोलेसन सञ्चालन गर्न सरकारले अनुमति दिएपनि आवश्यक संरचना नहुँदा आइसोलेसन सञ्चालन गर्न नसक्ने जनाएपछि सुनकोसी र लिसंखुपाखरको १० लाख आर्थिक सहयोगमा आइसोलेसन निर्माण भएको प्रमुख चापागाइले जानकारी दिए ।

सरकारको नीति अनुसार २५ बेड माथिको अस्पतालमा आइसोलेसन सञ्चालन गरिनुपर्दछ ।

अक्सिजनको अवस्था

जिल्लामा हाल ९० सिलिण्डर अक्सिजन रहेको स्वास्थ्य कार्यालयले बताएको छ । तीमध्ये २५ सिलिण्डर अक्सिजन जिल्ला अस्पताल चौतारामा राखिने र बाँकी २५ बेड आवश्यकता अनुसार जिल्लामा सञ्चालित आइसोलेसन सेन्टरहरुमा लगिने प्रमुख चापागाइले जानकाी दिए ।त्यसैगरी जिल्लाका विभिन्न उद्योग, क्रसर उद्योगसँग भएका अक्सिजनको जम्मा गर्ने काम नेपाली सेना र प्रहरीलाई दिएको छ ।

एचडियु सञ्चालन

वागमती प्रदेशले जिल्लामा ६ बेडको एचडियु सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि कुरा भएको भएपनि आवश्यक प्रक्रिया, बजेट भने आउन बाँकी रहेको छ ।

स्वाब संकलनलाई समुदाय स्तरमै लगिने

सरकारको अहिले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको मात्रै स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने नीति छ । तर सिन्धुपाल्चोकमा कोरोना समुदाय स्तरमै फैलिएको देखिन्छ । पछिल्लो समय भएका, विभिन्न धार्मिक, राजनीतिक र सामाजिक काममा हुने भीडभाडले कोरोना समुदायस्तरमै फैलन मद्दत गरेको जनस्वास्थ्य प्रमुख चापागाइको ठहर छ । पछिल्लो संक्रमितको संख्याले पनि यो पुष्टि गर्छ ।

तर जिल्लामा भीटीएमको अभाव, एन्टिजेन किट नआउँदा परीक्षण गर्न नसकिएको प्रमुख चापागाइको भनाइ छ । ह्याम्स अस्पतालले ३ हजार एन्टिजेन कीट दिने भनेको भए पनि जिल्लामा आइपुगेको छैन् । भीटीएम र एन्टिजेन किट आउनासाथ केही स्थानीय तहमा समुदायमै गएर कोभिड परीक्षण गर्ने स्वास्थ्य कार्यालयको तयारी छ ।

भेन्टिलेटर र आइसीयु छैन

सिन्धुपाल्चोक राजधानीबाट नजिक रहेर पनि यहाँ सुविधासम्पन्न अस्पतालहरु अहिलेसम्म सञ्चालन हुन सकेका छैनन् । भएका अस्पतालहरुमा पनि आइसीयु र भेन्टिलेटर एउटा पनि छैन् । पछिल्लो केही मृत्युका घटना हेर्दा समयमा आइसीयु र भेन्टिलेटर पाएको भए संक्रमित बाँच्न सक्थे कि भन्ने आशा गर्न सकिन्छ ।

आइसीयु भेन्टिलेटर नहुनु र समयमै सुविधासम्पन्न अस्पतालमा नपुर्याउदाँ बाटोमै संक्रमितले ज्यान गुमाएको तीतो सत्य हाम्रै सामु छ । राजनीतिमा पहुँच राख्ने नेताहरु हुँदा पनि सिन्धुपाल्चोकमा एउटा भेन्टिलेटर र आइसीयु नहुनु लाजमर्दो कुरा हो ।

ल्याव सञ्चालन

जिल्लाबाट ल्याव सञ्चालन गर्ने  प्रदेश सरकारले गरेको छ । चौतारा अस्पतालबाट ल्याव परीक्षणका लागि धुलिखेल पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन समय लाग्ने हुँदा बिरामीको समयमै उपचार गर्न समस्या भएको छ ।

अहिले कोरोना संक्रमणका कारण एउटा रिपोर्ट आउन तीन दिनसम्म लागेको स्वास्थ्य प्रमुख चापागाइले बताउनुभयो । तर त्यसको विस्तृत अध्ययन भइरहेको छ । सरकारले नीतिगत निर्णय भएपनि कहिलेसम्म भन्ने एकिन छैन् ।

बाह्बिसे प्राथमिक स्वास्थ्य केन्द्रमा `जेन एस्पोर्ट` राख्ने संघीय सरकारको योजना छ । त्यसले ज्वरो र कोभिडकोसमेत रिपोर्ट दिने गर्छ । खकार जचाँउन पनि मिल्छ । क्षयरोगीहरुलाई अझ सजिलो हुन्छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!