Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोरोनाको `हटस्पट` बन्दै सिन्धुपाल्चोक

कोरोनाको `हटस्पट` बन्दै सिन्धुपाल्चोक


चौतारा । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगैं सिन्धुपाल्चोकमा संक्रमणको दर निकै बढेको छ । हालसम्म जिल्लामा ८३ जना कोरोना संक्रमित भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ । कोरोना महामारीको लहर बढेपनि त्यसलाई न्युनिकरण गर्नमा  प्रशासन, स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधिले खाशै चासो दिएका छैनन् ।

अझैसम्म पनि नेताहरु उद्घाटन, शिलान्यास र सार्वजनिक कार्यक्रममा व्यस्त छन् भने विवाह जस्ता सामुहिक भेटघाट हुने कार्यक्रमहरु जिल्लामा यथावत चलिरहेका छन् । सरकारले विवाह जस्ता सामुहिक कार्य गर्दा २५ बाट पनि घटाएर १५ जना मात्रै उपस्थित हुने निर्णय गरेको छ । तर त्यसको प्रभावकारी अनुगमन नहुँदा मानिसहरु भीडम भीड गरिरहेका छन् । अहिलेपनि विवाहको सिजन भएकाले यस्ता कार्यक्रमहरु यथावत भइरहेका छन् । त्यहाँ यति नै मान्छे भन्ने छैन् अन्य समयको जस्तै विवाहमा मानिसको भीड लाग्ने गरेको छ । पछिल्लो कोरोना संक्रमणको अवस्था हेर्दा विवाहबाट धेरै कोरोना संक्रमण भएको तथ्यांक देख्न सकिन्छ । केही समय अघि इर्खुका एक बेहुलामा कोरोना संक्रमण भएपछि विवाह नै रोकिएको थियो । इर्खुबाटै बेहुली लिन कदमवास जन्ती गएकाहरुबाट संक्रमण हुँदा कदमवासमा एकै गाउँका १२ जनामा संक्रमण पुष्टि भए बाट पनि मानिसको जमघट हुने कार्यक्रमहरु रोक्न जरुरी छ । निश्चित मापदण्ड अपनाएर मानिसहरु भेला हुने यस्ता कार्यक्रम व्यवस्थित बनाउन तर्फ स्थानीय सरकार, प्रहरी प्रशासनको ध्यान जान जरुरी छ ।

अहिले पनि जिल्लामा निर्वाध रुपमा सार्वजनिक सावरी साधनहरु चलिरहेका छन् । सवारी अनुगमनका लागि जिल्ला भित्रने नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्ने भनिएपनि त्यो हुन सकेको छैन् । सवारी साधन र त्यसमा यात्रा गर्ने यात्रु निश्चित मात्रै राख्न दिने गरी सवारी चलाउन जरुरी छ । कित केही दिन सार्वजनिक सवारी साधन बन्द गरेर कोरोना संक्रमण फैलन नदिने निर्णय जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्न आवश्यक देखिन्छ । सरकारले भनेजस्तो पहाडी जिल्लमा २ सय भन्दा बढी संक्रमित भेटेमा निषेधाज्ञा वा लकडाउन गर्ने निर्णय कुरेर बस्ने हो भने जिल्लाका कुना कुनासम्म कोरोना फैलिसकेको हुनेछ । जिल्ला जनस्वास्थ्य प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार अहिले लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको मात्रै पीसीआर परीक्षण गरिएको हो । जनस्तरमा गएर पीसीआर परीक्षण गर्ने हो भने जिल्लाको अवस्था भयावह रहेको अनुमान गर्न सकिन्छ । काठमाण्डौंलगायत देशभरका अस्पतालमा कोरोना संक्रमितका बिरामी भरिएको र सिकिस्त बिरामी राख्ने ठाउँ पनि अस्पतालमा नरहेको सरकारले जानकारी गराइसकेको छ । अब आफै सचेत भएर सुरक्षित रहने भन्दा अर्को उपाय छैन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईका अनुसार जिल्लामा रहेका संक्रमितहरुलाई होम आइसोलेसनमै रहेका छन् । उनीहरुमा कडा लक्षण नदेखिएकाले होम आइसोलेसनमा बस्न भनिएपनि जिल्लामा क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन हुन नसक्दा संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । शुक्रबारमात्रै जिल्ला अस्पताल आएका चौतारा साँगाचोकगढी ४ कुभिन्डेका ३७ वर्षीय युवाको आइसीयु र भेन्टिलेटरमा उपचार नपाएर धुलिखेलमा मृत्यु भएको छ । जिल्लामा आइसीयु भेन्टिलेटर नभएको र उचित उपचार गर्न नसकेका कारण उनलाई जिल्ला अस्पतालका चिकित्सकले धुलिखेल रिफर गरेका थिए । धुलिखेलमा पनि संक्रमितले आइसीयु भेन्टिलेटर भरिएकाले इमर्जेन्सी कक्षमा उपचार हुँदा हुँदै उनको मृत्यु भएको हो । उनले आइसीयु र भेन्टिलेटरमा समयमै उपचार पाएका भए बाँच्न पनि सक्थे । तर यो दुवै सुविधा जिल्लामा नहुँदा र धुलिखेलमा समेत यो सुविधा नपाउँदा उनको मृत्यु भएको हो । यो घटनालाई समेत ध्यान दिँदै जिल्लामा आइसीयु र भेन्टिलेटरसहितको सुविधासम्पन्न कोभिड अस्पताल व्यवस्थापन गर्न जरुरी छ । नत्र सिन्धुपाल्चोकका संक्रमितले उपचार नै नपाएर मर्नुपर्ने दिन टाढा छैन् ।

गत सालको कोरोना संक्रमणमा पनि क्षेत्रीय स्तरमा दुईवटा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन् ।  सुन्नमा आएअनुसार स्थानीय सरकार, प्रशासन र सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा क्षेत्रीय क्वारेन्टाइन मात्रै निर्माण भएका थियो । भोलिको दिनलाई अनुमान नगर्दा आज पनि हामी अस्पतालविहीन छौं ।

काम गर्ने मन, हात, सोचहरु भए अझै ढिला भएको छैन् । तत्काल अस्पताल निर्माण गर्न नसकेपनि गतसालको जस्तै आइसोलेसनहरु व्यवस्थापन गरेर संक्रमण नियन्त्रणमा सबैले ध्यान दिन जरुरी छ । यो महामारी गत सालको जस्तो सहज छैन् । सामान्य लक्षण देखिँदा पनि मृत्यु भएका उदाहरण हाम्रै अस्पतालहरुमा प्रशस्त देख्न सकिन्छ । लक्षण नदेखिएरै भाइरसले आक्रमण गर्ने र मर्नेको संख्या बढिरहँदा लक्षण देखिएन भनेर संक्रमितलाई उपचार गरिएन भने भोलि टाउको समाएर रुनु बाहेक अर्को विकल्प छैन् ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस