Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर

सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर


धुस्कुन । कोरोना भाइरस (कोभिड १९) संक्रमण कालमा जोखिम मोलेर भएपनि त्रिपुरासुन्दरी गाउँपालिका वडा ३ का महिला शिक्षकले घरमै पुग्दै बालबालिकालाई पढाए । यही विषयले सामाजिक सञ्जाल र जिल्लामा शैक्षिक चर्चाको विषय पनि बन्यो । त्यसको लगभग श्रेय सबै स्थानीय तह र विद्यालयका प्रधानाध्यापकले पाए ।
त्यस्तै कोभिडको डरबीच समाजको अनेक अपहेलना सहेर भएपनि बालबालिका पढाउन त्रिपुरासुन्दरी ३ धुस्कुनका घरपिच्छै खुबै धाइन् शिक्षिका गीता सापकोटा । कोभिडकालमै पढाउन हिडेका कारण अझैपनि उनले छिमेकी समाज परिवारबाट खुब आलोचना सहनुपरिरहेकै छ ।
अहिले शिक्षिका सापकोटालाई उनी कार्यरत धुस्कुनमा रहेको महेन्द्रप्रताप माध्यमिक विद्यालयले झनै झट्का दियो, विद्यालयबाट सात महिनाको तलब नै नदिई जागिर खोसेर । ‘जुन विद्यालयलाई म मन्दिर माने, पुजे, पढाए, त्यहाँबाट मैले यस्तो अन्याय भोग्नुप¥यो, अब मैले सात महिनाको तलब पाइन, उल्टै सुचना नदिई विद्यालयबाट नकालिएँ ।’ सापकोटाले सिन्धु खबरसँग भनिन् । ०७७ कै गएको भदौ अन्तिममा महेन्द्र माविका प्रधानध्यापक सुरज भट्टराईले ‘दरबन्दी काटियो ,जागिर खोसियो, अरुतिर खोज्नु’ भन्दै फेसबुक मेसेन्जरबाट सन्देश पठाएपछि मात्रै आफूलाई थाहा भएको उनले सुनाइन् ।


०७६ चैत १ गतेबाट करार नियुक्तीपछि सापकोटा धुस्कुनको महेन्द्र प्रताप माविमा ०७७ साउन महिनासम्म आधारभूत तहको अंग्रेजी, विज्ञान, स्वास्थ्य पढाइन् । ०७६ चैतदेखि ०७७ साउनभरमा ७ महिना पढाएको तलब (एक लाख ९८ हजार आठ सय रुपैया) नपाउँदा उनले आफूमाथि शोषण भएको अनुभव गरेकी छिन् । ‘गाउँपालिका र सम्बद्ध निकायमा धेरै गुहारे’, उनी भन्छिन्, ।
०७६ साल जेठ र फागुनमा गरी महेन्द्रप्रताप माविले आधारभूत तहमै दुई पटक परीक्षा दिन लगायो, उनले जेठ र फागुनको अन्तिममा दुवै पटक करार शिक्षक पदमा परीक्षा दिएर नाम निकालिन् । तर ,०७७ मा दरबन्दी रहेनछ भनेर उनलाई तलब नदिई विद्यालयका प्रअले जागिरबाट निकालिएको मेसेज पठाए । विद्यालयमा पढाइरहेका शिक्षक दिपक नेपालको जागिर बचाउनकै लागि विद्यालयले करारलाई दुई पटक परीक्षा दिन लगाएको स्थानीय शिक्षकले आरोप लगाउदै आएका छन् ।
महेन्द्रप्रतापले यसअघि ०७६ कात्तिक मंसिरको दुई महिनाको तलब पनि एक महिनाको तलब (२४ हजार चारसय) हुनुपर्नेमा जम्मा ५२ हजार दिएर टारेको उनले उदाहरण दिइन् । ‘एउटा शिक्षक र प्रअकै कारण महेन्द्रप्रतापले दुई परीक्षा दिन लगायो, न तलब पाए न कदर ,उल्टै जागिर खोसेर निकालिदिए,’उनले भनिन् । १४ महिना कुर्दापनि तलब नदिएपछि अब कानुनी प्रक्रियामा जाने तैयारीमा रहेको उनले जनाइन् । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका सचिव ऋषिराम पौडेलेले दरबन्दी नहुदापनि विज्ञापन गर्दै परीक्षा दिन लगाउनु र नियुक्ती गरेपछि पनि तलब नदिनु एकदमै दुखद भएको बताए । ‘यो सरासर आम शिक्षकको एक प्रकारले विधालयले गरेको श्रमशोषण हो ।’ उनले भने ।
त्रिपुरासुन्दरी गापा ३ का अध्यक्ष सुकदेव रिसालले भने शिक्षिका सापकोटालाई तलब दिलाउन लागि परिरहेको दाबी गरे । ‘उहाँ खट्नुभएको कुरा सही हो, गाउँपालिकाले स्पष्ट धारणा नदिएकैले तलब दिन सकेका छैनौ, गाउपालिकाले नदिए विद्यालयले दिन्छ,’उनले भने ।
यसबारे त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जिल्ला शिक्षा विकास तथा समन्वय एकाईले लकडाउनअवधीभर नियुक्ती नदिनु भन्ने परिपत्र हुदापनि विद्यालयको प्रअले मनमौजी गर्दै गाउपालिकालाई बदनाम बनाउन खोजेको आरोप लगाए । ‘दरबन्दी नहुदा र जिल्लाबाट नियुक्ती नदिनु भन्ने परिपत्र गर्दा पनि विद्यालयले गाउँपालिकालाई जानकारी नै नदिई आफ्नो इच्छाले विज्ञापनसगै दुई पटक परीक्षा दिन लगायो, बेकार दुख दियो, यसैले विद्यालयले नै तलब दिनुपर्छ ।’ श्रेष्ठले भने । उनले महेन्द्रप्रताप माविका प्रअ भट्टराईले आफुखुशी गर्दा शिक्षिकाले यस्तो दुख पाउनुपरेको र यसको तलब, सबै समस्याको जिम्मेवार उनी हुने प्रष्ट्याए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस