वाग्मती प्रदेश स्तरीय कवितामा पुरु प्रथम (उत्कृष्ट ५ कवितासहित)

चौतारा । दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनको अवसरमा गरिएको वाग्मती प्रदेश स्तरीय कविता प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम भएका छन् । प्रतियोगितामा सहभागी अन्य २५ कविलाई पछि पार्दै लम्सालको घामको चिठीले प्रथम स्थान हासिल गरेको हो ।
दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा भएको सम्मेलनको अवसरमा भएको प्रतियोगितामा धादिङका सुमन आलोक द्वितीय, सिन्धुपाल्चोककी रोजिना पराजुली तृतीय, सिन्धुपाल्चोककै पवन ढुङ्गाना र सविता थापा सान्त्वना भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना हुने दुई कविहरुलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले प्रमाणपत्र प्रदान गरे ।
सम्मेलनमा स्रष्टा सरल सहयात्री पौडेलले वाग्मती प्रदेशमा प्रगतिशील साहित्य लेखन र शशिनाथ आचार्यले सिन्धु साहित्यको इतिहास विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमकै बीच सिन्धुपाल्चोकमा बाल साहित्य लेख्ने स्रष्टालाई लक्षित गरी मित्र प्रष्तिष्ठानद्वारा बाल साहित्य पुरस्कार कोषको घोषणा गरिएको छ । दुःखी प्रकाशनमार्फत पुरस्कार प्रदान गर्ने गरी सम्झैता भएको छ । सो अवसरमा मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ ले दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूलाई कोष स्थापनाको लागि १ लाख रुपैंयाको चेक प्रदान गरे ।
(प्रथम भएको कविता)
घामलाई चिठी
पुरु लम्साल
प्रिय घाम !
अनुरोध सहितको एउटा चिठी
लेखिरहेको छु तिम्रो नाममा
नपठाउनु पारिला किरणहरु
ओसिला वस्तीहरुमा
तिमीले पठाएको उज्जयालो
बीचमै छेकिदिन्छ कालो पहाडले
र हाम्रो घरसम्म आइपुग्नै दिइँदैन
हाम्रै नाममा अरुले तापिरहेछन् न्यानो
सेकाइरहेछन् आङ
तर अफसोच हामी पर्खिरहेकाछौँ
चिसो आँगनमा एकमुठ्ठी घाम
नउदाउनु हाम्रो आँगनको बाटो
यहि करेसा हुँदै गएर ठोक्किन्छौ
कतै आलिसान महलमा
र घाइते अस्ताउँछौ साँझमा
तिमी उदाउँदैमा हाम्रो बस्तीमा
बिहान नआउने रहेछ
बरु नउदाऊ हाम्रो ढोकामा
हामीलाई चाहिएको छैन
आफ्नै रगत लतपतिएको
रातो बिहान
नआउनु सुनौलो रंग छर्दै
निथ्रुक्क भिजेका फूलका डालीहरुमा
जहाँ रंग विहीन सपनाहरु
अर्धचेत अवस्थामा लडिरहेकाछन्
र मुस्कुराई रहेकाछन्
कागजका काला फूलहरु
अभावहरु रुपान्तरित भएपछि आवश्यकतामा
लुगलुग काँपिरहेको छ
कर्कलाको छातीमा शीत
तिम्रो चर्को रापमा पनि
शिशिर ओढेर
कहिलेसम्म देख्नु बसन्तको सपना हामीले ?
प्रिय घाम
तिमी उदाउँदा हिमाल मुस्कुरायो
तर हाम्रो वस्ती रोइरहेकै छ
महललाई न्यानो भयो
तर हाम्रा झुपडी चिसै छन्
आकाश उज्यालो पनि भयो
तर हाम्रो मन अँध्यारै छ ।
०००
(द्वितीय भएको कविता)
देशजस्तै देश
सुमन आलोक
कसले भन्छ माटोको मुटु हुँदैन
कसले भन्छ माटोको आँखा हुँदैन
कसले भन्छ माटोको मूल्य हुँदैन
र, हुँदैन कुनै आकार
माटोको मुटु हुन्छ– र नै दुख्छ यो देश
आँखा हुन्छ– र नै देख्न छाड्दैन सपना
मूल्य हुन्छ– र नै लडिन्छ युद्ध
आकार हुन्छ– र नै कोरियो यो देशको मानचित्र
बग्नलाई नै हो नदी
पग्लिनलाई नै हो हिमाल
र, जिउँनलाई नै हो स्वाभिमान
बजारवादको बुँइ चढेर
पेस्टिसाईड्स आयो देशको अनुहार कोतर्न
एसिड आयो र कुरुप बनायो देशको गुप्ताङ्ग
क्लोरोफम आयो र गुमनाम बनायो चेतना
साईनाईड आयो र ठप्प बनायो धड्कन
अनि यी सब चिज थाहा नपाउनलाई भयानक पेनकिलर आयो
हो सरकार
यहाँ राष्ट्रियताको हत्या भएको छ,
भाग्य खोज्ने निहुँमा सीमाना छिचोल्दै गरेकाहरुलाई
जिस्काइरहन्छ देशको राष्ट्रिय गीतले
तिम्रो कानुन त्यति कमजोर छैन भने
गिरफ्तार गर यी सबलाई
र झुण्ड्याईदेउ एसिड र पेस्टिसाईडस्को कन्टेनर
साईनाइटलाई सुँघाइदेउ क्लोरोफम
र, नष्ट गरिदेउ सबभन्दा भयानक पेनकिलरलाई
किनभने यो देशमा केहि पत्तो हुन्न
केहि, केहि पत्तो हुन्न
कुनैबेला देखाउँछ टीभीले सर्जिकल स्ट्राइकको विज्ञापन
कुनैदिन फेरिन्छ वषौं नफेरिएको देशको प्रोफाईल
र, कुनैदिन देशले सिपाईलाई सहिद हुने फरमाईस गर्छ
हो सरकार
यहाँ माटोको हत्या भएको छ ।
ढुङ्गालाई ईश्वर पुजिने देशमा
म आप्mनै भाग्यको लाश जलाएर फर्केको मान्छे
कुन दिशा मोडिरहेछ मेरो पाईलाहरुले
कसै कसैलाई थाहा छैन
यदी म अबेर गरी फर्केछु भने
फुटाईदिनु भाग्यै नभेटिने अराजक भूगोलको निधार
यो माटोमा पुरिदिनु मेरो जीवनको पासपोर्ट
भत्काईदिनु मेरो जिन्दगीको विमानस्थल
र, जलाईदिनु मेरो धुलोसरीको नागरिकता
यदी म फर्कदा
कसैगरी शत्रुले खन्यो भने आफ्नै लागि चिहान
मेरो छातीको माटो उघाएर पुरिदिनु
कि यो चिहानै चिहानको देशमा
नथपियोस् फेरि अर्को चिहान
सरकार,
अन्तिम पटक म मेरो देशलाई
देश जस्तै बाँचेको हेर्न चाहन्छु
०००
(तृतीय भएको कविता)
म कुमारी आमा
रोजिना पराजुली
मलाई लाग्दैन
यो सतीले सरापेको देश हो
बरू लाग्छ
देशसँग सतीको दुस्मनी भन्दा पनि
देशको सतीहरूसँगको प्यार बहुत छ ।
हो
म त्यहि सती मध्य एक हुँ
जो देशले दिएको माया अङ्गाल्न नसकेर
बारम्बार मरिरहेछु
घरि निर्मला बनेर
घरि शारदा बनेर
घरी सावित्री बनेर
घरि कुन्ति बनेर
घरी योगमाया बनेर
घरी द्रौपती बनेर
घरी मेरै आमाको एक अंश बनेर ।
दिनदहाडै बेचिन्छ मलाई
दिनदहाडै बलात्कृत हुन्छु म
र हिड्छु घाईते घाङ्गरको फेरोबाट
चुहाउँदै चुहाउँदै लालिगुराको रङ
बनाउँदै बनाउदै त्यहि
रातो रङले देशको नक्सा
म हिँडिरहेछु–
निरन्तर निरन्तर सहिद हिँडेको बाटो ।
मलाई चिच्याएर रुनको खातिर
अध्यारो हुनै पर्दैन
म हरेक उज्यालोहरूमा
निष्पट्ट कालो बाचिरहेछु
लाटोकोसेरो रातमा बिउँझिए जस्तै
म खोजी रहेछु आफ्नै जीवनको लालपुर्जा
र हेरिरहेछु मझेरीमा धिपधिपाई रहेको दियो
र संझिरहेछु मेरी आमाको ईतिहाँस ।
निर्मम हलीले बुढो गोरु पिटेझैँ
बाले आमालाई पिटिरहँदा
ढोकाको दुई खापा जोडिएको सानो प्वालबाट
आमाको आँखामा उर्लिएको गण्डकी
हेर्न मात्र सक्छु तर रोक्न सक्दिनँ
किन कि आमा गण्डकी हुन भने
मेरा बा समुन्द्र हुन्
मलाई थाहा छ समुन्द्रले गण्डकी छोपेजस्तो
गण्डकीले समुन्द्र छोप्न सक्दिनन् ।
साँच्चै म
यौबनले स्पर्श गरेको थाहा नहुँदै
छातिमा
दुईवटा थुम्काहरू राम्ररी उम्रन नभ्याउँदै
पहिलो रजस्वलाको पिडावाट बाहिर निस्कन नपाउँदै
अझै भनौं
यौनको परिभाषा जान्न नपाउँदै
गर्भिणी भएकि छु
मलाई यत्ति पनि थाहा छैन
तराईका फाँटहरूमा
मार्सी धान झार्दै गर्दा म गर्भिणी भएँ?
पहाडका टाकुराहरुमा हर्के काकासँग
गाई चराईरहदा म गर्भिणी भएँ?
या हिमालको चिसो सिरेटोले
मेरो फक्रिदो यौवनलाई स्पर्श
गर्नेवितिक्कै म गर्भिणी भएँ?
तर मलाई जरुर थाहा छ
यो यस्तो देश हो जहाँ
पाईलापाईलामा पर्खिएका हुन्छन्
बलात्कारी नजरहरू, गिद्दे औलाहरु
हृदयविहिन स्तन्भहरु,
यहि परिबेशबाट मैले एउटा
धमिलो वाक्य कोरेकि छु
आखिर देश भन्नु नै पुरुषहरूको जमात न रहेछ ।
सम्झन्छु त्यो दिन
आकाश मडारिएर परेको वर्षा
म रोएर झरेको आँसु
प्रकृति रिसाएर चम्किएको विजुली
म आफैँसँग हारेर बगेको रगतको नदी
रगत र आँसुको मिश्रणले
निथ्रुक्क भिजेको मेरो घाँगर
उ ……..फ मेरो बालापन ।
ए बुद्द, ए सगरमाथा, ए राष्ट्रिय झन्डा
ए सुस्ता, कालापानी, लालीगुराँस
काली, गन्डकि, सबै सबैले सुन
अझै सुन आफूलाई विवेकशील ठान्ने
मुर्ति स्तम्भहरू,
म मेरो सन्तानलाई
लिम्पियाधुरामा लगरे उभ्याउनेछु
जसले गर्नेछ सिमानाको वकालत
जसले जोगाउनेछ आमाको फरिया
जसले बुझ्नेछ माटोको चरम अस्तित्व
जसले तिमीलाई पढाउने छ
गुप्ताङ्गको परिभाषा
मलाई विश्वास छ
त्यहि दिन तिमीले रोस्टममा उभिएर भन्नेछौ
अबका दिनहरूमा बन्नुपर्ने छैन
कुनै पनि छोरीले कुमारी आमा
०००
(सान्त्वना भएको कविता)
तुईन शिक्षा, खेत परीक्षा
सविता थापा
उषा र साँझको मिठो लालीले
अध्यारो बस्तीमा, उज्यालो ज्योति छरिरहँदा
मेरो बाँको काँध अझै सङ्घषको नदीमा तैरिरहन्छ
टुकीले मेरा अक्षरहरु धमिलिदैछन्
तर यी नयन उज्यालो पढाउने प्रभातहरु बटुलिरहन्छ
सधै झै हरेक बिहान झोलामा शक्ति र
यि काँधमा अदभूत सामथ्र्य बोकेर
तुईन सङ्सङै म आफ्ना सपनाहरू तानी
बाबुकोे निधारका मोतीले
म, मैले किन्न सक्ने अक्षरहरु हिसाब गर्न निस्कन्छुु ।
तर, मलाई भारी आस्चर्य भइरहेको छ बाँ !
तिमीले चिन्न नसकेका अक्षरहरु
मैले किन्न नसक्ने भइसकेका छन्
तिमीले मकैँ, गहूँ, फापर बेचेर
सङ्गगालेका सिक्काहरुले, किन्ने शब्ददहरुले
गाडी र खाडीको गाण गाउँदा रहेछन् , है !
तर मैले त आकाशमा पिलेन उडाउने सपना देखेकी छु
हुन त लेख्ने पानाहरु कम हुन्छन् कि भनेर
मेलै कागजको पिलेन त बनाउन सकिन
हुन्देउ बाँ, मेरा साना अँखाले पिलेन नभेटाउँदो रहेछ, है।
बाँ, मेरो सपनाको उडानमा पखेटा हाल्न
तिमिले बगाएकाा मोतिका दानाहरुले
मेरा उडानका पानाहरु कतिन्जेल भर्छाै ?
जुन अक्षरले मेरा सपनाको रेखा कोर्दैन
ती अक्षरका लागि हातका रेखाहरु नमेटाउ बाँ
मेरा जोसिला उडानहरुले खेतमा पनि सपना फुलाउन सक्छन्
हाम्रोे झुपडीमा पनि खुसीको
पालुवा झुल्नेछन्, हर्ष उम्रिनेछन्
मेरा सपनाहरु तुइनमा अटाउँँदैनन् , बाँ
अब तुइनको परिक्षा हैन
म, खेतको परिक्षा उतिर्ण गर्छु ।
तुईन मेरो पखेटा हो बाँ,
पखेटाले हातमा थेला उठाय पनि
म अझै उड्न सक्छु
बाँ, हाम्रो झुपडीमा पुस्तक र खेतमा परीक्षा पुगेको दिन
कलमले सिंह दरबारमा आगलागि हुनेछ
मैले कलमले चट्टान फोरेको दिन
त्रिशूलिको रङ्ग फेरिने छ बाँ !
मैले किन्न नसकेका अक्षरहरु
गोबरकोे मगज मगजमा उम्ररिने छन्
मैले परिश्रमको उज्यालो सृपेज लगायको दिन
पसिनामा डुबिरहने ती हातहरु हलुका हुनेछन्
मलाई त्रिशूलिले बगाए पनि
मेरो सपना किनारमा थुप्रिनेछ
म अक्षर किन्न हैन,
चिन्न चाहान्छु बाँँ ।
०००
(सान्त्वना भएको कविता)
भोक
पवन ढुङ्गाना (छन्दः अनुष्टुप)
कस्तो आकारको हुन्छ ? मानवी प्रतिरोध यो
नेहेर्दा पनि देखिन्छ, विचार के छ भोकको ?
समान धर्ति माटो छन् भोक के असमान छ ?
स्वयम् मृत्यु नि भन्दैछ, अछुत हुन्छ भोक त !
सोमालिया र कङ्गोका भोक के असमान छन् ?
या होस् आक्रान्त हैटी त्यो भोक–द्वन्द अभिन्न छन् !
के भोक क्रोधले मर्छ ? या शान्त हुन्छ रापले ?
सपना मर्दछन् सारा क्रुद्द भोको विषादले ।
भोकको देशको किल्ला आकाश छुन्छ गर्वमा
कहाँ गएर रित्तिन्छ ? भोकको द्वन्द विश्वमा
के राष्ट्र–राष्ट्र कुर्लन्छौ ? कस्तो छ राष्ट्र भोकको ?
वादका तर्कना भित्र कस्तो छ वाद रोगको ?
भोकले किन बोल्दैन ? चिच्याउने हजार छन्
भोकको मूल्य तोकेर भोक बेच्ने बजार छन्
अनेक खण्ड बन्दैछन् आकाशभित्र बादल
मान्छे बादल जस्तै छन् के भोको हुन्छ बादल ?
मरेका लाश हौँ हामी भोक यौटा छ जीवित
आओस् प्रलय धर्तीमा बन्दैन भोक मुर्छित ।
पुजारी हो! कतिक् पुज्छौ देवता घण्टका मुनि
शाश्त्रमा खोज्न सक्छौ के ? भोकको रुग्ण दामिनी ।
संसार जित्न सक्छौ रे भोकसङ्ग डराउँछौ
आफ्नै अस्तित्व मारेर मान्छे बन्न कराउँछौ ।
अँध्यारो किन बल्दैछ धपक्क गज्किएर झन् ?
उज्ज्यालो बिच मान्छे नै अस्तित्व शून्य बन्दछन् ।
खुट्टामा जब काँडाले प्यारसङ्ग बिझाउँछ
धर्तीको तुच्छ माटोले आँसु सिञ्चन पाउँछ ।
म भोकको लडाईमा भोको रही लडूँ कति
ए आगो मलाई भन् तापको के छ ओखती ।
मलाई मार्न के गर्छस् म भित्र शुद्द मृत्यु छ
देखिन्छु शान्त मान्छे हो ! मसङ्ग आँधि साथ छ
कविता कति लेख्ने हो ! म मूर्ख आज भैसकेँ
मलाई आग प्यारो छ! म आज ताप भैसकेँ ।
आधा धर्ती त भोको छ ‘सभ्यता–प्रिय’ मान्दछौ
‘प्राणी उत्कृष्ट हौँ हामी’ भन्छौ ! ढोङ फलाक्दछौ ?
बर्बर बर्बर छ सारा यो बर्बरता छ बर्बर
भोकको दास हो आओ ! म दिन्छु भोक सुन्दर !
०००
क्याटेगोरी : कला
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस